ताजा समाचार

पहिरोको उच्च जोखिम क्षेत्रबाट ११ घर अझै हट्न बाँकी

रत्ननगर, चितवन, २६ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरो जोखिम क्षेत्रका ३४ घरपरिवार अन्यत्रै सरे पनि ११ घर अझै हटेका छैनन् ।

जोखिम क्षेत्रका ४५ घरमध्ये ३४ घरपरिवार मुआब्जा लिएर गए पनि अटेर गरी बसेका इच्छाकामना गाउँपालिका–६ कालिखोलाका ११ घर अझै हट्न नसकेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार अघिल्लो वर्षको असार १४ गते यहाँ संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा स्थलगत निरीक्षण भएपछि तत्कालै पहिरो जोखिम क्षेत्र पहिचान गरी बस्ती सुरक्षित राख्न गठित अनुगमन समितिले निर्देशन दिएको थियो ।

उक्त निर्देशनअनुसार नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो जोखिम क्षेत्रमा ४५ घर पहिचान गरी हटाउने प्रक्रिया थालेको थियो । यहाँको कालिखोला, तोपेखोला, चोर खोला, केराबारी र सेती दोभानको बस्ती पहिरोको उच्च जोखिममा थिए ।

जोखिम क्षेत्रका घरको कूल रु एक करोड ६४ लाखको मुआब्जा निस्किएकामा झण्डै ८० प्रतिशत घरले मुआब्जा लिएर गएको र अधिकतम एउटा घरले रु १५ लाखसम्म मुआब्जा पाएको इन्जिनियर खनालल बताए ।

सोमबारमात्रै यहाँको टकमायाँ गुरुङलाई रु नौ लाख ५४ हजार र दिलकुमारी गुरुङलाई रु दुई लाख २८ हजार मुआब्जाबापतको रकम उपलब्ध गराइएको उनले जानकारी दिए ।

उनीहरुलाई शुरुमा तोकिएको रकमको एक तिहाई उपलब्ध गराइने र घर हटाइसकेपछि बाँकी भुक्तानी गरिनेछ । बाँकी ११ घर पनि छिट्टै हट्ने नारायणगढ–मुग्लिक सडक आयोजनाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org