ताजा समाचार

आँपले बजार नपाउँदा कृषक चिन्तित

सुर्खेत २९,असार।भेरीगंगा नगरपालिका–१३ रामघाटका प्रेम वली आँप बिक्री नभएपछि चिन्तित छन ।

उत्पादन भएको आँपले बजार नपाएपछि उहाँलाई चिन्ता भएको हो । बिक्री हुन नसक्दा अहिले आँप कुहिन थालेको छ ।

“गत वर्ष आँप बेचेर रु तीन लाखसम्म आम्दानी गरेका थियौँ, यसपाली आँप बिक्री हुन सकेको छैन,” वलीले भने।

रामघाटकै धनसरा भण्डारीको आँप बिक्री नभएर बगैँचामा कुहिएको छ । “फलफूलबाहेक अन्य बाली राम्रो उत्पादन हुँदैन”, उनलेभन्छिन, “आँपबाटै गुजारा चलाउँदै आएका छौँ ।” आँप बिक्री नभए वर्षभरि नै भोकै बस्नुपर्ने हुन्छ ।

आँपले बजार नपाएपछि कृषकले कर्णाली प्रदेश सरकारसँग जुस उद्योग स्थापनाको माग गरेका छन् । कृषकले बजारीकरण गर्न जुस उद्योग र शीतभण्डारको माग गरेका छन् ।

“आँप कुहिएर जाने भएकाले जुस उद्योग आवश्यक छ,” रामघाटका सुरेन्द्र सिंहले भने। भारतबाट आयात गरिएको आँपसँग यहाँ उत्पादित आँपले प्रतिष्पर्धा गर्न नसक्दा बजार पाउन नसकेको हो ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आँपको बजारीकरणका लागि प्रदेश सरकारले पहल गर्ने बताइन । “यहाँको आँपको गुणस्तरमा समस्या देखिएको छ”, उनले भनिन। फलफूल बजारीकरणका लागि कर्णाली प्रदेश सरकारले रु तीन करोड बजेट छुट्याएको मन्त्री केसीले जानकारी दिइन।

“प्रदेशका प्रत्येक जिल्लामा प्रशोधन केन्द्रका लागि रु ५० लाख बजेट छुट्याइएको छ,” उनिले भनिन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org