ताजा समाचार

तपाईँ जथाभावी बाटो काट्दै हुनुन्छ ? होसियार, जेब्रा क्रसिङ वा आकाशे पुलको प्रयोग नगरे २ घण्टा प्रशिक्षण लिनुपर्ने

काठमाडौं ३१, असार । तपाई जेब्रा क्रसिङ, आकाशे पुल, सब–वेको प्रयोग नगरी जथाभावी बाटो काट्नुहुन्छ ? वा सडकको फुटपाथ छाडेर बीच सडकबाटै जथाभावी हिँड्नुहुन्छ ? आजबाट यो बानी त्यागिदिनुस्, त्यसो भए अब तपाईंले ट्राफिक प्रहरीबाट बाटो कसरी काट्ने भन्ने विषयमा प्रशिक्षण लिनु पर्नेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गर्नका लागि यो अभियान थालेको हो ।

महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अुनसार उपत्यकाका विभिन्न चोकहरुमा जेब्राक्रस तथा आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रुलाई सडक पेटीमा ल्याएर प्रशिक्षण दिने निर्णय भएको छ ।

उनका अनुसार त्यस किसिमका प्रशिक्षण दिनमा दुई पटक हुनेछ । ‘बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ’, पन्तले भने ।

महाशाखाका अनुसार हाल काठमाडौंको नागस्थान माथिल्लो र तल्लो, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, रणोद्धिप, पुरानो बसपार्क, भद्रकाली, नयाँ बसपार्क लगायतमा आकाशे पुल छन् ।

ट्राफिकले प्रशिक्षण दिनका लागि १२ जना प्रहरी निरीक्षकको नेतृत्वमा एक/एक जना जुनियर अधिकृतलाई खटाउने भएको छ ।

जस अनुसार ठिमीमा प्रहरी निरीक्षक जगत नेपाली, कोटेश्वरमा कृष्णराज सापकोटा, थापाथलीमा सरोज प्रजापति, त्रिपुरेश्वरमा इन्द्रजित इटानी, पुरानो बसपार्कमा बाबुकाजी गिरी र केशरमहलमा गोकर्ण नेपालको नेतृत्वमा प्रशिक्षण हुनेछ ।

त्यस्तै, सिंहदरबार क्षेत्रमा बेनप्रसाद श्रेष्ठ, गौशालामा धर्मेन्द्र रावल, महाराजगञ्जमा राजकुमार न्यौपाने, कालिमाटीमा प्रतित सिंह राठौर र जावलाखेलमा सिताराम हाछेथुले प्रशिक्षण दिने महाशाखाले जनाएको छ ।

जेब्रा क्रसिङ र सडकपेटीबाट नहिंडेका यात्रुमाथि गत वर्ष १६ जेठदेखि लेहि समयसम्म ट्राफिक प्रहरीले कारवाही स्वरुप २०० जरिवाना गरेपनि तत्कालिन गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को ठाडो निर्देशनमा जरिवाना हटाइएको थियो । त्यस्तै, पैसा तिर्नु नसक्ने वा नचाहनेका लागि भने प्रहरीले कार्यालयमा ३ घण्टा नियन्त्रणमा राखेर छाड्ने गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org