ताजा समाचार

पर्यटकीय नगरी सौराहामा प्रवेशद्वार निमार्णको काम तीव्र

चितवन ३१,असार । पर्यटकीय नगरी सौराहा प्रवेश गर्ने बूढीराप्ति पुलमा प्रवेशद्वार निर्माणलाई तीव्रता दिइएको छ ।

पर्यटकीय क्षेत्र प्रवेश गरेको अनुभूति दिलाउने गरी तीन वर्षअघि प्रवेशद्वार निर्माण थालिएको भए पनि कामले पूर्णता पाएको थिएन । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार नेपाल पर्यटन बोड र स्थानीय संघ संस्थाको सहयोगमा प्रवेशद्वार निर्माण थालिएको हो ।

प्रवेशद्वार निर्माण समितिका संयोजक नारायण भट्टराईका अनुसार तीन वर्षअघि काम थालेको भए पनि बजेटको अभावमा सुस्तगतिमा काम भएको थियो ।
हालसम्म पर्यटन बोडले रु २० लाख र स्थानीय निकाय एवं संघ संस्थाले अरु सहयोग जुटाउँदै छन् । भट्टराईले आउँदो चार महिनाभित्रमा स्थानीय तहमा अपुग बजेट संकलन गरी काम सम्पन्न गरिने बताए ।
काम सम्पन्न गर्दा रु ४५ लाखको हाराहारी खर्च हुने अनुमान गरिएको उनले बताए। प्रवेशद्वारको बाहिरी भागमा काठ टाँसेर त्यसमा जनाबरको आकृति कुँदेर आकर्षक बनाइने छ ।

प्रवेशद्वारको दुबै तर्फ गैँडाको मूर्ति राखिने छ । प्रवेशद्वार सम्पन्न हुँदा निकै आकर्षक र महत्वपूर्ण पर्यटकीय क्षेत्रमा प्रवेश गरेको अनुभूति हुने भट्टराईले बताए। प्रवेशद्वार छिरेसँगै पर्यटकीय क्षेत्र सौराहाका होटल शुरु हुने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org