ताजा समाचार

सरकारी टोली र डा. केसी पक्षबीच वार्ता हुदै,के-के विषयमा हुँदैछ सहमति?

काठमाण्डाैँ ९, साउन ।   डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकार र केसी पक्षबीच शिक्षा मन्त्रालयमा मंगलबार साँझ सुरु वार्ता विनानिष्कर्ष टुंगिएको छ।

चिकित्सा शिक्षा सुधारबारे डा. केसीले उठाएका माग समझदारी क्रममा रहेको र बुधबार बिहान फेरि बस्ने सहमति भएको वार्तापछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ– भोली बिहान ९ बजे पुनः ती विषयमा छलफल गरेर सहमति जुटाइने निर्णय गरेको छ । विधेयकका अधिकांश बुँदामा सहमति जुटे पनि मुख्य बुँदामा भने अझै सहमति हुन नसकेपछि बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने विज्ञप्तिमार्फत बताइएको हो ।

केसी अनसन सुल्झाउन नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग विधेयकमा संशोधन गर्न सकिने बुँदाबारे सोमबार राति र मंगलबार बिहानभरि छलफल गरेका थिए।

त्यसपछि नेम्वाङले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो छलफल र केसी अनसन कसरी सुल्झाउन सकिन्छ भनेर ‘ब्रिफिङ’ गरे। यसबीच ओली र दाहालले पनि माथेमा र डा. बाँस्कोटालाई बालुवाटारमै डाकेर चिकित्सा शिक्षाको सुधारबारे छलफल गरेका थिए।

शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन् ।

यसैगरी, डा. केसीका तर्फबाट डा. जीवन क्षेत्री, डा. अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागि थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org