ताजा समाचार

भरतपुरमा झडप स्थिति नियन्त्रण गर्न प्रहरीद्वारा हवाई फायर

चितवन ९, साउन। अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

केन्द्रीय वस टर्मिलन चोकमा भएको झडपमा प्रहरीले दंगा नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ । आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेर ध्वस्त पारिदिएका छन् । आन्दोलनकारीहरुले एक घण्टा बन्दसहित चोकमा रहेको प्रहरीको बिटमा आगो लगाउन खोजेपछि प्रहरीले हवाई फायर गरेको हो ।

बन्द राजमार्ग खुलाउन नमान्दा प्रहरीले नियन्त्रणमा लिने खोजेको तर प्रहरीकै कार्यालयमा आगो लगाउन खोजेपछि बल प्रयोग गरिएको एसपी राठौरले बताए । केही आन्दोलनकारीहरुलाई पक्राउसमेत गरिएको छ ।

प्रदर्शनकारीले सडकमा टायर बालेर बिरोध जनाइरहेका छन् । भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा उच्च अदालत हेटौडामा मुद्धा समेत परेको थियो ।

अदालतले वैकल्पिक सडक भएका स्थानमा अटो रिक्सा राजमार्गमा चलाउन नदिन महानगरको पक्षमा फैसला गरेको थियो । तथापि सहमति नभएपछि महानगर र मजदुर एवम् अटो व्यवसायीबीच मंगलवार र बुधबार विहान छलफल भए पनि सहमति हुन सकेन ।

राजमार्गमा गुड्न पाउनुपर्ने अडान मजदुरहरुले नछाडेपछि सहमति नभएको हो । महानगरले सवारी चाप अघिक भएको र दुर्घटना बढाएको भन्दै राजमार्गमा कुनैपनि हालतमा गुड्न नदिने बताउँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org