ताजा समाचार

मजबुत सूचकका साथ कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य बृद्धि

काठमाण्डौ १५, साउन । कामना सेवा विकास बैंक लिमीटेडले खूद नाफामा ३४ करोड ३३ लाख सहित ९४.४५ प्रतिशत बृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा बैंकको खूद नाफा ९४.४५ प्रतिशतले बढेर ३४ करोड ३३ लाखको उचाईमा पुगेको हो । अघिल्लो वर्ष बैंकको खूद नाफा १७ करोड ६५ लाखमा सीमित थियो ।

संभावित जोखिम व्यवस्थापनबाट १५ करोड ३१ लाख राइटब्याक गरेर यो बैंकले नाफा बढी देखाएको हो ।

समीक्षा अवधिमा बैंकले व्यवसाय बिस्तारमा समेत उल्लेख्य प्रगति गरेको देखिएको छ । यहीकारण अघिल्लो वर्षसम्म ३९ करोड ११ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ७१ करोड ९४ लाखको उचाईमा पुगेको छ ।

यस्तै, २६ करोड ९७ लाखमा सीमित संचालन मुनाफा बढाएर बैंकले ४३ करोड ५८ लाखको उचाई चुमाएको छ ।

समीक्षा अवधिमा बैंकले १५ अर्ब ७५ करोड निक्षेप संकलन गरी १३ अर्ब ४४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ६ अर्ब ९८ करोड निक्षेप संकलन गरी ६ अर्ब ११ करोड बराबरको कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष ३१ करोड ७८ लाखमा सीमित रिजर्बकोषको आकार बढाई बैंकले ७२ करोड १५ लाख पुर्याएको छ ।

कामना र सेवा विकास बैंकबीच मर्ज भई बनेको कामना सेवा विकास बैंकमा दुईवटा बैंकको वित्तीय विवरणको एकीकृत रुप आएकोले समेत सबै सूचकमा राम्रो बढोत्तरी भएको देखिएको हो ।

समीक्षा अवधिमा बैंक व्यवस्थापनले खराब कर्जालाई घटाउने सफलता पाएको छ । अघिल्लो वर्ष १.३९ प्रतिशत रहेको यस्तो कर्जा घटाएर ०.६९ प्रतिशतमा सीमित पारेको हो ।

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२८.८३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.४९ गुणा कायम भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org