ताजा समाचार

प्राधिकरणले दियो यस्तो राय,श्री एयरलाइन्सलार्इ नयाँ जहाज उडाउन कडा शर्त

काठमाडौं २२,साउन। नेपाल नागरिक उड्ययन प्राधिकरणले शर्तसहित श्री एयरलाइन्सको क्यू-४०० टर्बोप्रोब जहाज संचालन गर्न दिन सकिने राय दिएको छ।

जहाज संचालनको लागि आवेदन दिएको सात महिनापछि मात्रै प्राधिकरणले शर्तसहित यो जहाज चलाउन दिन सकिने राय पर्यटन मन्त्रालयलार्इ पठाएको हो। हवार्इ क्षेत्रमा वर्षौदेखि जरा गाडेका कम्पनीको स्वार्थका लागि प्राधिकरणले कडा शर्त राखेर श्री एयरलार्इ जहाज उडानको अनुमति दिनुपर्ने राय दिएको हो। प्राधिकरणको शर्तका कारण श्रीलार्इ नयाँ जहाज ल्याएर उडान भर्न सहज छैन।

श्री एयरले ल्याउन लागेको जहाज उपत्यका बाहिर राखेर उडान गर्नुपर्ने र जहाजको प्राविधिकमार्फत अडिट गराएर मात्र इजाजत दिन सकिने शर्त राखेको प्राधिकरण स्रोतले बतायो।

प्राधिकरणको यो राय जस्ताकोतस्तै मन्त्रालयले कार्यान्वयनमा ल्याए श्रीले नयाँ जहाज ल्याएर उडान गर्न अझै धेरै समय कुर्नुपर्नेछ। प्राधिकरणसँग क्यू-४०० टर्बोप्रोब जहाजको प्राविधिक छैन। प्राधिकरणले श्रीले ल्याउन लागेको जहाज नयाँ किसिमको भएको र एयर वर्दिनेशका लागि चाहिने जनशक्ति नभएको भन्दै सात महिनादेखि राय नदिर्इ बसेको थियो।

प्राधिकरणले राय दिँदा फेरी प्राविधिकमार्फत अडिट गराउनुपर्ने शर्त राखेर उडानको मिति थप अनिश्चित बनाउन खोजिएको स्रोतले बतायो।श्रीले ल्याउन लागेको जहाज ७८ सीटको जहाज हो।

कम्पनीले ल्याउन लागेको जहाजले उडान अनुमति पाए आन्तरिक उडानमा रहेको कार्टेलिङ हट्न सहयोग पुग्छ।कम्पनीले यो जहाजमार्फत पोखरा, भरतपुर, सिमरा, जनकपुर उडान थाल्ने योजना बनाएको थियो।यो क्षेत्रमा ट्राफिक राम्रो भएपनि भाडा भने महँगो छ। श्रीले चार वटा जेटमार्फत ट्रंक रुटमा उडान भरेपछि जहाज भाडा सस्तिएको छ।बुद्ध र यतिसँगै श्री थपिएकाले भाडा सस्तो मात्रै भएन सेवामा समेत सुधार भयो।

कुनैपनि एयरलाइन्स कम्पनीले एयर अपरेटर सर्टीफीकेट (हवाई संचालन प्रमाणपत्र) पाइसकेपछि उडान अनुमतिपत्र पाउन कम्तीमा एक वर्ष लाग्छ।कम्पनीले प्रि अप्लिकेसन फेज, एप्लिकेशन फेज, डकुमेन्टेसन, डेमोन्सट्रेसन, सर्टिफिकेसन लगायत पाँचवटा चरण पुरा भएपछि महानिर्देशकले उडान अनुमति पत्र दिन्छन्। जहाज उडान अनुमतिपत्र दिनका लागि लाग्ने पाँचौ चरणसम्मको अध्ययन गर्नका लागि छिटोमा छ देखि सात महिना लाग्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org