ताजा समाचार

नेकपाकै सांसदहरूले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडाैँ २६, साउन ।  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् ।  कम्युनिष्ट पार्टीको सरकार बन्दा पनि जनताका समस्या जस्ताको त्यस्तै रहेको भन्दै प्रदेश नम्बर ५ का सांसदहरूले बजेटपछि सरकारसँग बढि गुनासा आएको बताए ।

प्रधानमन्त्री ओलीले शुक्रबार प्रदेश नम्बर ५ का सांसदहरुसँग भेट गरेका थिए ।

“बजेटले सरकारलाई असफल बनाउँदैछ, अर्थमन्त्री परिवर्तन गर्नुहोस् भनेर सुझाव दियौं,” सांसद मेटमणि चौधरीले बैठकपछि भने, “बजेटपछि सरकार अलोकप्रिय बनाउन अर्थमन्त्रीको भूमिका बढि देखिन्छ । सकिन्छ भने करेक्सन गरौं नभए अर्थमन्त्री परिवर्तन गरेर भए पनि अहिलेको सरकारलाई व्यवस्थित गराउनुपर्छ ।”

उनले धेरैको गुनासो यस्तै रहेको बताए ।

“धेरै सांसदले अहिले जनता उत्साहित छैनन् भनेर भन्नुभयो,” उनले भने, “अब हामीले मुक्ति पाउँदैनौं । जनताका समस्या सम्बोधन गर्नुपर्छ ।” बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सरकारले मुलुकलाई खोक्रो बनाएको बताउँदै अहिले जनताका माग सम्बोधन गर्न नसकेको बताएका थिए ।बैठकमा अन्य सांसदहरुले पनि अर्थमन्त्री खतिवडाको आलोचना गरेका थिए । यसअघि अन्य प्रदेशका सांसदहरुले पनि अर्थमन्त्री खतिवडाले ल्याएको बजेटले जनताका समस्या सम्बोधन गर्न नसक्ने भन्दै अर्थमन्त्री परिवर्तन गर्न सुझाव दिएका थिए ।

प्रधानमन्त्री ओलीले केहिवर्ष लागे पनि आफू नेतृत्वको सरकारले मुलुकमा समृद्धि हासिल गर्न बताएका थिए ।

सांसदहरुले सिन्डिकेट अन्त्य गर्न नसकेको, ठेकेदारलाई कारवाही गर्न नसकेको, सरकारले जनताका समस्यालाई सम्बोधन गर्न नसकेको लगायतका गुनासा प्रधानमन्त्री ओलीसँग गरेका थिए । यसैबीच प्रधानमन्त्री ओलीले नेकपाको सरकार नभएको भए देश भयानक संकटमा पर्ने थियो भनेका छन् ।
अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पुर्याएको थियो भन्दै उनले अब चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने धारणा व्यक्त गरे ।
उनले भने “हामीले विकास र निर्माणका ठूला–ठूला योजना ल्याएका छौं, शिक्षा र स्वास्थ्यका क्षेत्रमा अभियानहरु सुरु गरेका छौं ।”
प्रधानमन्त्री ओलीले अगाडि भने, “कसैलाई कम्युनिष्ट पार्टीको सरकार बनेकोमा असैह्य भएको हुन सक्छ, तर जनताले विश्वास गरेर सुविधाजनक वहुमत प्रदान गरेको अवस्थामा हामीले देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउनु पर्छ ।”
उक्त अवसरमा नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूर्णा सुवेदी, हिराचन्द्र के.सी., सोमप्रसाद पाण्डे, तुलसा थापालगायतका सांसदहरुले सरकार र मन्त्रीहरुका काम–कार्वाहीका साथै यो आर्थिक वर्षको वजेटका सम्बन्धमा आ–आफ्नो धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org