ताजा समाचार

प्रभू बैंकको खराब कर्जा असूलीमा राम्रो प्रगति,नाफामा भने केहि गिरावट

काठमाडाैँ ३०,साउन । प्रभू बैंकको खूद नाफा घटेको छ । यो बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १ अर्ब १२ करोड मात्र खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ७५  करोडको उचाईमा थियो । यसरी बैंकको खूद नाफातर्फ ३५.५० प्रतिशतको गिरावट देखिएको छ ।

बैंकले समीक्षा अवधिमा संभावित जोखिम व्यवस्थापनबाट ९० करोड राइटब्याक गर्दा समेत नाफा बढाउन सकेन । अघिल्लो वर्ष १ अर्ब ७२ करोड राइट ब्याक गरेर नाफा १ अर्ब ७५ करोड पुगेको देखाइएको थियो ।

बैंकले संचालन मुनाफा भने बढाएको छ । अघिल्लो वर्ष १ अर्ब ३६ करोड रहेको  यस्तो मुनाफा बढेर १ अर्ब ३८ करोड पुगेको हो ।

व्यवसाय बिस्तारमा औसत प्रगति गरेको बैंकले समीक्षा अवधिमा २ अर्ब ९८ करोड खूद ब्याज आम्दानी गरेको छ भने अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ५२ करोड थियो ।

समीक्षा अवधिमा  प्रभू बैंकले ९७ अर्ब २५ करोड निक्षेप संकलन गरी ७५ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८१ अर्ब ३४ करोड निक्षेप संकलन गरी ६१ अर्ब ९७ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकले आफ्नो जगेडाकोषलाई भने निकै मजबुत बनाएको छ । अघिल्लो वर्ष २ अर्ब ५ करोड रहेको कोषको आकार बढी ३ अर्ब ४२ करोडको उचाईमा पुगेको हो ।

खराब अवस्थाका बैंक तथा बित्तीय संस्था गाभेर अगाडि बढेको यो बैंकको व्यवस्थापनले खराब कर्जा असूलीमा भने आफ्नो दिलोज्यान लगाएको देखिन्छ । यहीकारण अघिल्लो वर्ष ४.२९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर ३.५५ प्रतिशतमा सीमित बन्न पुगेको छ ।

प्रभू बैंकको इक्वीटीमा प्रतिफल ९.६९ प्रतिशत, सम्पत्तिमा प्रतिफल ०.९८ प्रतिशत, प्रतिसेयर आम्दानी १६.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७१.२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.५१ गुणा, तरलता अनुपात २९.३० प्रतिशत कायम भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org