ताजा समाचार

ग्राहक नबनी समाचार हाल्नेलार्इ राससले ल्यायो यस्तो नियम

काठमाडाैँ ३१, साउन । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले रासस समाचारको अनधिकृत प्रयोगलाई निरुत्साहित गरिने बताएका छन् ।

आज कर्णाली प्रदेशका पत्रकार तथा सञ्चारकर्मीहरुसँगको संक्षिप्त भेटघाटका अवसरमा अध्यक्ष श्यामलले सो कुरा बताएको हो । उनले ग्राहक नबनी समाचार लिने र स्रोत उल्लेख नगरी समाचार प्रयोग गर्ने प्रवृत्तिलाई प्रोत्साहन नदिन सरोकारवालाहरुलाई आग्रह गरे ।

राससलाई दिगो र दह्रो बनाउन यसभित्र भएको कसिङ्गर बढार्नेतर्फ काम शुरु भएको बताउँदै अध्यक्ष श्यामलले भने, “हामी सबैले पछिल्लो समयमा निजी सञ्चार गृहले ल्याएको प्रदूषण हटाउनुपर्छ ।” उनले अब राससलाई कमजोरी हुन नदिने कार्य अघि बढाएको बताए ।

उनले थप्नुभयो, “काम गर्ने मान्छेलाई कुनामा बस्नुपर्ने र अल्छीहरुलाई च्याप्ने मानसिकताभन्दा माथि उठेर काम गर्ने संस्कार विकास गर्छौं ।” पत्रकार सबैले जिम्मेवार पत्रकारिताका निम्ति खोज पत्रकारिता गर्नुपर्ने उनको सुझाव थियो ।

यो समयमा आइपुग्दासमेत कर्णालीको पत्रकारिता चाहेजस्तो हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले आफैँभित्रको खराबी बुझ्नेहरु मात्र अघि बढ्ने तर्क गरे । पत्रकारलाई रासस पत्रकारिताको साझा मञ्च ठान्न अनुरोध गर्दै उनले पछिल्लो समयमा गाउँमुखी नभई नेतामुखी समाचार हुँदै गएकामा चिन्ता व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले राससले आफूलाई अब्बल बनाउन दक्ष र सक्षम पत्रकार भित्र्याउनुपर्ने सुझाव दिए । उनले नेपालमा कार्यरत सञ्चार गृहले समाचार अपुगपछि रासस सम्झने भन्दा रासस समाचारलाई प्राथमिकता दिन आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, पत्रकारहरु चिन्तामणि शर्मा, धर्मराज जिसी, शेरबहादुर थापाले राससलाई समयसापेक्ष, गतिशील र भरपर्दो बनाएर लैजान सुझाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org