ताजा समाचार

जोरबिजोर प्रणाली,मोटरसाइकलमा पनि लागू हुने

काठमाडाैं १०,भदाै । बिम्स्टेक सम्मेलनमा ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौँ उपत्यकाका सबै सवारी साधनमा यो हप्ता तीन दिन जोरबिजोर प्रणाली लागू हुने भएको छ।

चार पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी साधनमा मात्र नभएर दुई पाङ्ग्रे मोटरसाइकलमा समेत यो नियम लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी नवराज लम्सालले पहिलोपोस्टलाई बताए।

एसपी लम्सालले भने, ‘अत्यावश्यक बाहेकका सवारी साधनमा नियम लागू हुनेछ।’

सरकारी प्रयोजनका लागि प्रयोग हुने अत्यावश्यक बाहेकका सवारी, कुटनीतिक नियोगका सवारीमा पनि यो नियम लागू हुने उनले बताए।
भदौ १३ गते बुधबार, १४ गते बिहीबार र १५ गते शुक्रबार उपत्यकाभित्र चल्ने सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा ट्राफिक प्रहरीले जोर बिजोर प्रणाली लागु गर्ने भएको हो।

नियम अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१, ३, ५, ७, ९) भएका सवारी साधनहरू सञ्चालन हुन पाउने छन्। १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०, २, ४, ६, ८) भएका सवारी साधनहरू चल्ने छन्।

उपत्यकाभित्र मात्र १३ लाखभन्दा बढी सवारी साधन गुड्ने गरेको प्रहरीको तथ्याङक छ। यो नियम लागू भएपछि सडकमा आधा सवारी साधानको संख्या घट्ने छ।

नियम नमानी सवारी चलाएमा दिनभर ट्राफिक प्रहरीले नियन्त्रणमा लिने र ५ सय रुपैयाँ जरिवाना लाग्ने एसपी लम्सालले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org