ताजा समाचार

बम बिस्फोट गराउने भूमिगत ‘गोइत’ समूहका तीन जनालाई प्रहरीबाट पक्राउ

विराटनगर महानगरपालिकामा बम बिस्फोट गराउने भूमिगत सशस्त्र समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। तराई राष्ट्रिय मुक्ति मोर्चा ‘जयकृष्ण गोइत’ समूहका तीन जनालाई प्रहरीले शनिबार राति समातेको हो।

एक नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालका अनुसार पक्राउ पर्नेमा मोरङ जहदाका मनोज सिंह, सिरहाका अभिमन्यू गिरी र रामरिझन यादव छन्। तिनै जनालाई नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समूह विराटनगर र मोरङ प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो।

गोइत समूहका तिनै जनालाई प्रहरीले आइतबार सार्वजनिक गर्दैछ। विराटनगर महानगरपालिकामा गत साउन २७ गते बम बिस्फोट गराइएको थियो।

बिस्फोट गराइएको क्षेत्रमा गोइत समूहको पर्चा फेला परेको थियो। बिस्फोटमा महानगरपालिकाका मेयर भीम पराजुली चढ्ने गरेको को१झ ४९४ नम्बरको गाडी क्षतिग्रस्त भएको थियो। मेयर पराजुलीको कार्यकक्षबाहिर बिस्फोट गराइएको थियो। बिस्फोटमा मानवीय क्षति भएको थिएन।

बिस्फोटस्थलमा प्रेसर कुकर ह्यान्डिल फेला परेको थियो। बिस्फोट गराउन अाएकामध्ये तीन जना पक्राउ परेका थिए।

रिजालका अनुसार गोइतले तराईका जिल्लामा भूमिगत संगठन विस्तार गरी आपराधिक गतिविधि गराइरहेका छन्। सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा गोइत समूहले सशस्त्र गतिविधि गर्दै आएको छ।

‘नेपालबाट तराई अलग्याउने अभियानमा यो समूह सक्रिय छ, यसले चन्दा संकलन तथा मानवीय त्रास देखाउन सरकारी कार्यालयहरूमा बिस्फोट गराउने कार्य गरिरहेको छ,’ डिआइजी रिजालले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org