ताजा समाचार

भरतपुरलाई देशकै नमुना सफा र हरियाली महानगर बनाउँछौं:मेयर रेणु दाहाल

चितवन १८,भदाै । प्रमुख रेणुु दाहालले भरतपुरलाई देशकै सफा र हरियाली महानगर बनाउँदै स्मार्ट सिटीको अवधारणालाई साकार पार्ने बताएकी छन् ।

भरतपुर महानगरपालिकाको मुख्य सहर नारायणगढ बजारको सडक सरसफाइ अभियानको क्रममा प्रमुख दाहालले देशकै सफा र हरियाली महानगर बनाउने बताइन । उनले भनिन, ‘महानगरलाई सफा र हरियाली बनाउने अभियानमा हामी लागेका छौँ, स्मार्ट सिटीको परिकल्पनालाई साकार पार्न पनि सबैभन्दा पहिला नगर हरियाली र सफा हुनुपर्छ ।’

उनका अनुसार महानगरलाई सफा र हरियाली बनाउनको लागि विभिन्न सरसफाइमा जुटेका सामाजिक संघसंस्थाहरु र अभियान्ताहरुले महानगरलाई साथ र सहयोग भइरहेको छ । मेयर दाहालले भरतपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्दै लैजाँदा सफा र हरियाली अनिवार्य भएको हुँदा यसलाई महानगरले प्रमुख प्राथमिकता दिएको बताइन ।

महानगरले यसअघि भरतपुरलाई स्मार्ट सिटीको रुपमा विकास गर्न वृहत विज्ञहरुको गोष्ठीसमेत चलाएको थियो । गोष्ठीमा नगरलाई हरियाली र सफा बनाउनुपर्ने कुरासमेत उठेको थियो । प्रमुख दाहालले भरतपुर महानगरलाई सफा र हरियालीको नमुनाको रुपमा चिनाएर विश्वका पाहुनालाई भरतपुर आउने वातावरण सिर्जना गर्नु नै महानगरको ध्येय रहेको बताए ।

उनले भने, ‘महानगरलाई स्मार्ट सहर बनाउन पनि पहिला सफा र हरियाली चाहिने भएकाले महानगरले सफा र हरियालीलाई तीव्र रुपमा अगाडि बढाइरहेको छ । ‘महानगरका ३ वटा वडाहरु सरसफाइयुक्त घोषणा भइसकेको छ, निकट भविष्यमा नै भरतपुर महानगरलाई हरियाली र सरसफाइयुक्त महानगर घोषणा गर्ने अठोट मैले लिएको छु’ प्रमुख दाहालले भनिन् ।

उनले भरतपुर महानगरपालिकालाई वातावरणमैत्री, हरियाली र सफा सहर बनाउन विभिन्न योजनाहरु ल्याएको बताइन । नगरलाई सफा र हरियाली राख्न भरतपुर महानगरले १ घर २ बिरुवा अभियान पनि चलाइरहेको छ । भरतपुरलाई वातावरणमैत्री बनाउन वातावरणको क्षेत्रमा काम गर्ने संघसंस्थालाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने प्रमुख दाहालको भनाइ थियो ।

नारायणगढमा सरसफाइ र बिरुवा रोपन
भरतपुर महानगरले सोमबार नारायणगढको सरसफाइ र बृक्षारोपनको कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढको बजारको बीच सडकको क्यारीमा सरसफाइसहित झण्डै ५०० विभिन्न प्रजातिका फूललगायतका बिरुवा रोपिएको भरतपुर महानगरका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

भरतपुर महानगरलाई सफा र हरियाली बनाउने अभियान चलिरहेको उनको भनाइ थियो । सरसफाइ अभियानअन्तर्गत नै आज नारायणगढमा बिरुवा रोप्ने र सरसफाइ गर्ने कार्यक्रम भएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

महानगरको सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, सरसफाइमा लागेको वे गु्रप, लायन्स क्लब अफ बागेश्वरी, विभिन्न संघसंस्थालगायत सामाजिक अभियान्ताहरु सहभागी थिए । भरतपुर वडा नं १ का वडाध्यक्ष जयदेव श्रेष्ठले सहरलाई हरियाली बनाउनको लागि महानगरले अभियान चलाइरहेको र त्यही अभियानअन्तर्गत नारायणगढ बजारको सरसफाइ तथा बिरुवा रोप्ने काम भएको बताए ।

सामाजिक अभियान्ताहरुले विभिन्न २० भन्दा बढी जातको बिरुवा संकलन गरेका थिए । ट्राफिक कार्यालयका प्रमुख वेदप्रसाद गौतमले नगरलाई सफा र हरियाली बनाउन ट्राफिक प्रहरीको पनि मुख्य भूमिका हुने भएकाले अभियानमा लागेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org