ताजा समाचार

दसैंका लागि उपत्यकामा ७० हजार खसीबोका भित्रिदै

काठमाडाैँ १९,भदाैं । यस वर्षको दसैंमा उपत्यकामा ७० हजार संख्यामा खसीबोका तथा च्याङ्ग्रा खपत हुने भएका छन् । दसैंमा खसीबोकाको खपत धेरै हुने हुँदा यो वर्ष झन्डै ७० हजार संख्यामा खसीबोका उपत्यकामा ल्याउने तयारी छ ।
दसैंमा अधिकांश नेपालीले मासु उपभोग गर्ने भएकाले पनि उपत्यकामा ठूलो संख्यामा खसीबोका खपत हुने भएको हो । गत वर्षको दसैंमा ५० हजार संख्यामा खसीबोका खपत भएका थिए । यो वर्ष गत वर्षको तुलनामा २० हजार बढी खसीबोका खपत हुने अनुमान व्यवसायीले गरेका छन् । चाडपर्व सुरु हुन थालेपछि बजारमा खसीबोका भित्रिने क्रम सुरु हुन थालेको छ ।

उपत्यकामा नियमित रूपमा खसीबोका बिक्री हुने भए पनि दसैंको धेरै संख्यामा खपत हने गर्छ । पछिल्लो समय मासु उपभोग गर्नेका संख्या बढ्दै गएकाले पनि यो वर्ष खसीबोका बढी खपत बढी हुने देखिएको व्यवसायीको भनाइ छ । यससँगै काठमाडौंमै दसैं मनाउनेको संख्या पनि बढिरहेको छ । सडकको दूरावस्था र यातायातको असहजताका कारण धेरैले काठमाडौंमै दसैं मनाउन थालेका छन् ।
यस वर्ष ५५ हजार संख्यामा खसीबोका र १० हजार संख्यामा च्याङ्ग्रा खपत हुने अनुमान गरिएको व्यवसायी दिपक थापाले बताए । “यो वर्ष अघिल्लो वर्षको तुलनामा खसीबोकाको खपत २० प्रतिशतले बढ्न देखिएको छ,” उनले भने, “खपत वृद्धिसँगै मूल्य बढेर आएकाले उपभोक्तालाई महँगो पर्ने देखिएको छ ।” गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकेजी ५ सय २० देखि ५ सय २५ रुपैयाँ रहेकाले यो वर्ष बढेर केजीमा ५ सय ९० रुपैयाँ पुगेको उनको भनाइ छ । कुल खपत हुनेमध्ये ४० प्रतिशत स्थानीय उत्पादनले माग धान्ने गर्छ भने ६० प्रतिशत खसीबोका भारतबाट आउने गर्छ ।
दसैंमा व्यवसायीले विभिन्न जिल्लाबाट उपत्यकामा खसीबोका ल्याउने गर्छन् । च्याङ्ग्रा भने नेपालकै मुस्ताङ र छिमेकी चीनबाट ल्याउने गरिन्छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि व्यवसायीले ठूलो संख्यामा भारतका विभिन्न स्थानबाट खसीबोका ल्याउने गर्छन् । भारतको हरिद्वार, कानपुर, जस्मिनगर, बहरादलगायतका अन्य ठाउँबाट व्यवसायीले खसीबोका ल्याउने गर्छ । चाडपर्व सुरु भएसँगै बजारमा खसीबोकाको खपत बढ्ने गर्छ । दसैंको घटस्थापनादेखि बजारमा ठूलो संख्यामा खसीबोका भित्रिने गर्छन् ।
खाद्य संस्थानले २ हजार खरिद गर्ने
नेपाल खाद्य संस्थानले भने दसैंमा २ हजारमात्रै संख्यामा खसीबोका ल्याउने भएको छ । दसैंमा बजारमा खसीबोको खपत धेरै हुँदा निजी व्यवसायीले मनपरी मूल्य लिइ उपभोक्ता ठग्ने भएपछि बजार नियन्त्रण गर्नका लागि संस्थानले दुई हजा संख्यामा खसीबोका र च्याङ्ग्रा ल्याउन लागेको हो । संस्थानले १ हजार संख्यामा खसीबोका र १ हजार संख्यामा च्याङ्ग्रा ल्याउने तयारी गरेको हो । संस्थानले बजारमूल्य नियन्त्रण गर्न प्रत्येक वर्षको दसैंमा सहुलियदरमा बिक्री गर्दै आएको छ । संस्थानले उपभोक्तालाई राहत दिनका लागि बजार मूल्यभन्दा सस्तोमा खसीबोका बिक्री गर्ने गर्छ । संस्थानले दाङ, रूपन्देही र हेटौडाबाट खसीबोका र मुस्ताङबाट च्याङग्रा ल्याउने तयारी गरेको हो । गत वर्ष संस्थानले १ हजार ५ सय खसीबोका र १ हजार संख्यामा च्याङ्ग्रा ल्याएर बिक्री गरेको थियो । बजारमूल्य नियन्त्रण गर्नुका साथै उपभोक्तालाई सहुलियतदरमा उपलब्ध गराउनका लागि प्रत्येक वर्षको दसैंमा संस्थानले खसीबोका खरिद गरेर बिक्री गर्ने गर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org