ताजा समाचार

नेपाल टेलिभजनका दर्शकहरुले हास्य टेलिश्रृंखलाहरु फेरि हेर्न पाउने ।

  काठमाडौं  १९ भदौ,   नेपाल टेलिभजनका दर्शकहरुले हास्य टेलिश्रृंखलाहरु फेरि हेर्न पाउने भएका छन् । तीन वटा टेलिश्रृंखलाको यसै महिनाबाट प्रशारण सुचारु हुँदैछ ।

मिडिया हब र नेपाल टेलिभिजनसँगको तीन वर्षे सम्झौता सकिएकाले सबै टेलिश्रृंखला केही समयदेखि बन्द भएका थिए । अहिले मिडिया हबले फेरि एक वर्षका लागि नयाँ सम्झौता गरेको छ । मिडिया हबका प्रमुख सोम धितालका अनुसार प्रत्येक एपिसोडको २ लाख २८ हजार रुपैयाँ नेपाल टेलिभिजनलाई तिर्ने गरी सम्झौता भएको हो । आगामी असार मसान्तसम्मका लागि सम्झौता भएको छ ।

‘मेरी बास्सै’को प्रशारण मंगलबारबाट सुरु भइसकेको छ भने ‘जिरे खुर्सानी’ बिहिबार र ‘भद्रगोल’ शुक्रबार प्रशारण हुनेछन् । ‘मेरी बास्सै’ मा धुर्मुस र सुन्तली भने देखिने छैनन् । उनीहरु अहिले फिल्म निर्माणको तयारीमा छन् । अहिले राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले मेरी बास्सैको निर्देशन गर्नेछन् ।

मिडिया हबका धितालले धुर्मुस र सुन्तलीलाई फर्काउन आफू प्रयासरत रहेको बताए । उहाँहरु समाजसेवामा बढि व्यस्त भएर मेरी बास्सैलाई समय दिन नसक्नु भएको हो, अहिले फेरि उहाँहरुसँग सकारात्मक कुरा भइरहेको छ,’ उनले भने ।

यसैगरी ‘जिरे खुर्सानी’ बाट जितु नेपाल पहिल्यै अलग भइसकेका छन् । भद्रगोलमा भने अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ सहितको पुरानै टिम रहनेछ ।

अर्को हास्य श्रृंखला ‘ब्रेक फेल’ को प्रशारण भने तत्काल सुरु नहुने भएको छ । दर्शकहरुबाट राम्रो रेस्पोन्स आइरहेको भए पनि घटामा गएका कारणले मिडियाहबले यसलाई थाँति राख्ने निर्णय लिएको हो । सोमबार प्रशारण हुने गरेको यो श्रृंखलाको निर्देशन शिवहरी पौडेलले गरेका थिए ।

‘यदि नेपाल टेलिभिजनले प्रति एपिसोड २ लाख रुपैयाँसम्ममा मानेको भए हामी ब्रेक फेल पनि चलाउँथ्यौं, तर रकम अलि महंगो भएकाले अहिलेलाई तीन वटा मात्रै सुचारु गर्ने भएका हौं,’ धितालले भने ।

पारिवारिक टेलिश्रृंखला ‘परिचय’ पनि अर्को साताबाट सुरु हुने उनले जानकारी दिए । ऋषी लामिछानेको निर्देशन रहेको यो श्रृंखलामा सरिता लामिछाने, सरोज खनाललगायतको प्रमुख भूमिका रहेको छ ।

धितालले केही नयाँ टेलिसिरियलहरुको पनि होमवर्क भइरहेको बताए । ३० वर्ष अगाडि स्थापना भएको मिडिया हबले लोडसेडिङ, भूकम्प र नाकाबन्दीका कारण संकटग्रस्त बनेको थियो । आर्थिक संकटका कारण कलाकारहरुलाई समयमा पैसा दिन नसकेपछि दिपकराज गिरी र दिपाश्री निरौलाले निर्देशन गर्ने ‘तितो सत्य’ बन्द भएको थियो । अहिले फेरि यसलाई सुचारु गर्ने विषयमा दिपक र दिपासँग कुरा भइरहेको धितालले दावी गरेका छन् ।

पछिल्लो समय लोडसेडिङ हटेपछि मिडिया हबको व्यापार बढेको छ । अघिल्लो वर्ष यो नाफामा गएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org