ताजा समाचार

महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका इन्चार्ज फेरिए

काठमाण्डाैँ ३१भदाै,   बालुवा तस्करसँग घुस लिइरहेका बेला ९ जना प्रहरी पक्राउपछि महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका इन्चार्ज फेरिएका छन्।

महानगरीय प्रहरी कार्यालयले प्रहरी प्रभाग काँडाघारी र कोटेश्वरका प्रहरी इन्चार्जलाई फिर्ता बोलाएर त्यहा नयाँ इन्चार्ज पठाएको हो।

कोटेश्वर र काँडाघारी वृत्तका प्रहरीले बालुवा व्यवसायीसँग घुस लिइरहेका बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले शनिबार ९ जना प्रहरीलाई पक्राउ गरेको थियो।

सोही विषयमा प्रहरी प्रभाग कोटेश्वरका प्रमुख निरीक्षक राजु लामालाई हटाएर एलिजा गिरीलाई खटाइएको छ।

काँडाघारीका इन्चार्ज हरि ओझाको ठाउँमा सुधीर राईलाई प्रमुख बनाएर पठाइएको छ।

त्यहाँ कार्यरत अन्य प्रहरीलाई छानबिन गरी अन्यत्र सार्ने तयारी भइरहेको महानगरीय प्रहरी आयुक्त डिआइजी मनोज नेउपानेले जानकारी दिए।

‘शनिबार पक्राउ परेका प्रहरीबारे पनि हामी बुझ्दैछौं, त्यहाँका अरू प्रहरीबारे पनि बुझ्न थालेका छौं,’ डिआइजी नेउपानेले भने।

अख्तियारको टोलीले काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत सुवास ढुङ्गाना, प्रहरी हबल्दार दीपक भारती, उमेश यादव, अमन चौधरी र प्रहरी जवानतर्फ रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पट्टेललाई  रंगेहात पक्राउ गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org