ताजा समाचार

काठमाडौं–तराई द्रुतमार्गको डीपीआर ४ महिनाभित्र तयार हुन्छः सेना

काठमाडाैँ ४,असोज ।  नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं–तराई– मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को डीपीआर ४ महिनाभित्र तयार हुने जनाएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख एवं रथी योगेन्द्रबहादुर खाँणले फास्टको डीपीआर ४ महिनाभित्र तयार हुने बताएका हुन् ।

त्यस परियोजनाको प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली सुसुङ परामर्शदाता कम्पनी छनोट भएको उनले जनाए । त्यस कम्पनीसँग यही महिनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने जनाइएको छ ।

उक्त डीपीआर करिब १० करोड १५ लाख रुपैयाँको लागतमा तयार हुनेछ ।

द्रुतमार्गले काठमाडौँ र तराईलाई भावनात्मक र भौगोलिकरुपमा जोड्ने विश्वास गरिएको छ । प्रस्तावित ७६ किमी लामो उक्त सडकलाई १०

भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टरमार्फत काम गरिरहेको सेनाले जनाएको छ ।

‘निर्धारित समयमै निर्माण पूरा हुन्छ’

सेनाले फास्ट ट्याक निर्माण निर्धारित समयमै पूरा हुनेमा आशंका नगर्न समेत आग्रह गरेको छ ।

प्राविधिक हिसाबले जति नै चुनौतीपूर्ण रहे पनि सबैबाट रचनात्मक सहयोग र सद्भाव भएमा तोकिएको समयभित्रै निर्माण गर्न सक्षम हुने खाँणले दाबी गरेका छन् ।

सडकको रेखाङ्कनअनुरुप डाँडा र ढिस्को कटान गर्ने, सम्याउने र खाल्डाखुल्डी भर्ने काम तीव्ररुपमा भइरहेको जानकारी दिँदै उनले भने, ‘कार्यतालिका, कार्ययोजनाका आधारमा आयोजनाको कामलाई अघि बढाइएको छ ।’

सस्तो मूल्यमा गुणस्तरीय ढङ्गबाट छिटो सम्पन्न गर्न सक्छ भन्ने सरकार र नागरिकको सेनाप्रतिको विश्वासलाई सङ्गठनले इतिहास रच्ने अवसरका रुपमा लिएर काम गरिएको पनि उनले जनाएका छन् ।

नेपाली सेनाले मुलुकका विभिन्न भागमा हालसम्म एक हजार ११४ किलोमिटर सडक र २९ वटा पुल निर्माण गरिसकेको जनाएको छ । द्रुतमार्गसहित ५२६ किलोमिटर सडक अहिले सेनाले बनाइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org