ताजा समाचार

मलाई जिम्मा दिनुस्, पार्टी एकता ३ दिनमै टुंग्याइदिन्छु: नेता जनार्दन शर्मा

काभ्रे २०, असोज । नेकपाका स्थायी कमिटि सदस्य एवं पूर्व ऊर्जा तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफूलाई जिम्मा दिएको खण्डमा पार्टी एकताको प्रक्रियालाई ३ दिनमै टुंग्याइदिने बताएका छन् ।

डाँडापारि जागरण समुहको आयोजनामा काभ्रेको बनेपामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकताको प्रक्रियालाई नेतृत्वले महत्व नदिएकाले आफूलाई जिम्मेवारी दिएमा ३ दिनमै टुंग्याइदिने बताएका हुन् ।

‘एकताको उचाईको महत्वलाई नेतृत्वले कम बुझ्नुभयो । ७ दिनमै टुंगिनुपर्ने पार्टी एकता अनावश्यक रुपमा लम्बिरहेको छ । पार्टी एकताको सन्दर्भ र मर्मलाई नेताहरुले कम बुझ्नुभएको छ । एकता छिटो टुंग्याउनुपर्छ’ उनले भने, ‘धेरै समय लाग्दैन, मलाई जिम्मा दिनुभयो भने ३ दिनमै टुंगिन्छ । उहाँहरुसँग समय छैन भने हामीलाई मिलाएर ल्याउन भन्नुस्, हामी मिलाएर लगिदिन्छौँ ।’

सरकारको सवालमा उठेको प्रश्नहरुको जवाफ दिन संगठित शक्ति नभएको बताउँदै उनले पार्टी एकतालाई गतिमा लैजानुपर्ने बताए । सरकारले मात्रै काम गरेर समृद्धि सम्भव नहुने बताउँदै उनले समृद्धिको काम सरकारले मात्रै गरेर नहुने बताए ।

पार्टी एकतालाई अनावश्यक रुपमा नेतृत्वले लम्ब्याएको बताउँदै उनले दुई तिहाई बहुमत छ भनेर सरकारले ढिला काम गर्न खोज्दा जनताप्रति निरासा बढेको बताए । सरकार फोहोरी राज्य सत्ता सफा पार्न लागेको भएपनि केही मन्त्री त्यही फोहोरमा नै डुब्ने खतरा रहेको दाबी गरे । ‘विभिन्न व्यवस्थाविरुद्ध हामी लडेर यहाँ सम्म आउँदा फोहोरी सत्ता समालेकाहरुको विरोध गरिरहेँ’ उनले भने, ‘अब हामीले बनाएका मन्त्रीज्यूहरु नै फोहोरमा हराउने त होइन ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org