ताजा समाचार

न्याय माग्दा बिग्रियो यज्ञराजको मानसिक अवस्था

काठमाडौँ । बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तकी बुबा यज्ञराज पन्तको मानसिक अवस्था बिग्रिएको छ । छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै अनिश्चितकालीन धर्ना बसेका यज्ञराज धर्नास्थलमै उनको मानसिक अवस्था बिग्रिएपछि उपचारका लागि काठमाडौं ल्याइएको  हो । उनलाई बेहोस बनाएर काठमाडौं ल्याइएको हो ।

आइतबार बिहान बेहोस बनाएर उनलाई काठमाडौं ल्याउन लागिएको निर्मलाकी आमा दुर्गादेवी पन्तले जानकारी दिइन्।
पन्तका अनुसार यज्ञराजले होस गुमाएर धेरै बोल्नेर हिँड्ने गर्न थालेपछि शनिबार दिउँसो सेती अञ्चल अस्पताल लगेर बेहोस बनाउने इन्जेक्सन दिइएको थियो। उनले भनिन्, ‘हिजै जहाजमार्फत् काठमाडौं जाने टिकट लिएका थियौं। मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई जहाजले ल्याउन नमानेपछि आज एम्बुलेन्सबाट काठमाडौं ल्यायौं ।’

उनलाई त्रिवि शिक्षण अस्पताल राखिएको छ । हत्यारा पत्ता लगाउन र आफूहरूलाई न्याय दिन माग गर्दै कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयअघि निर्मलाका परिवारै धर्नामा बसेका छन्। हप्ता दिनअघिबाट निर्मलाका बुवा अस्वभाविक रूपमा बढी बोल्ने बरबराउने गर्न थालेका थिए।

उनी नियन्त्रणबाहिर जान थालेपछि उपचारका लागि काठमाडौं लैजान लागिएको हो। निर्मला गत साउन १० गते साथीको घरमा होमवर्क गर्न भन्दै गएकी थिइन्। उनी फर्केर आइनन्। खोजी गर्दागर्दै भोलिपल्ट उल्टाखाम भन्ने ठाउँको उखुबारीमा उनी मृत अवस्थामा फेला परेकी थिइन्।

उनलाई बलात्कार गरी मारिएको पोष्टमार्टम रिपोर्ट आएको थियो। उनको हत्यामा अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै तत्कालीन एसपी डिल्ली विष्टलगायतलाई बर्खास्त थियो। हत्यारा भने अझै पत्ता लाग्न सकेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org