जब आफ्नै आँखै अगाडि परिवारजस्तै गाईहरू जले, यस्तो छ फार्म मालिक बाबुराम कार्कीको पीडा
काठमाडौं, ५ असार । गोकर्णेश्वरको सुन्दरीजलस्थित रुप्सेटारमा ‘रिमोट’ नामको गाई यतिबेला मृत्युसँग अन्तिम लडाइँ लडिरहेको छ ।आफूले औधी माया गर्ने गाईको आगोले शरीरका अधिकांश भाग र आँखासमेत जलेर पीडा खपिरहेको दृश्य हेर्न बाबुराम कार्कीलाई निकै सकस भइरहेको छ । रिमोटको यो अवस्था देखेर उहाँ भक्कानो छाडेर रुनुहुन्छ । गाई फार्मको शनिबारको भयानक दुर्घटनापछि बाबुरामका आँखा पनि सुकिसकेका छन् । हरेक गाईसँग भावनात्मक रूपले जोडिएका बाबुरामसँग रिमोटको सम्बन्ध निकै गहिरो छ । त्यसैले जीवन र मृत्युको दोसाँधमा रहेको रिमोटलाई उहाँले साथ छाड्नुभएको छैन। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
रिमोट ओम कृषि फार्ममा रहेका मध्येकै चलाख गाई हो । फार्ममा ब्याउने गाई, आइपरेको समस्या, गाई–बाच्छाबाच्छीलाई चोटपटक लाग्दा, तिर्खा र भोक लाग्दा सबैभन्दा पहिलो सूचना उही रिमोटले मालिक बाबुरामलाई कराएर जानकारी गराउँथ्यो ।
रिमोटकै सूचनाका आधारमा बाबुराम र कामदार गाई गोठमा पुगेर समस्या समाधान गर्थ्यो । ‘तर आज उही रिमोट मृत्युसँग लड्दै छिन्, मेरो आमा आईसीयुमा भर्ना हुँदाको भन्दा पनि ठूलो हृदयविदारक घटना भयो मेरा लागि’, बाबुरामले आइतबार भन्नुभयो, ‘समस्या पर्दा सबैलाई जोगाउन सूचना दिएर हामीलाई सधैं जागा बनाइरहने रिमोट आफैं जीवन मृत्युको दोसाँधमा परिन् । सकेसम्मको उपचार गर्दै छु । चिकित्सकले बाँच्दैन भनेका छन् । तर, मैले अझै आश मारेको छैन ।’
ओम कृषि फार्मका मालिक बाबुरामले सानैदेखि आफ्नै हातले रिमोटलाई स्याहार गर्नुभएको हो । गोठमा हुने सबै प्रकारका सूचना आफूलाई समयमै उपलब्ध गराएका कारण बाबुरामले उक्त गाईको नाम रिमोट राख्नुभएको हो ।
आगलागीमा परी सिकिस्त बनेका गाईको उपचारका लागि एनिमल नेपाल, स्नेहा केयर, जिल्ला पशु सेवा, पशु चिकित्सालय त्रिपुरेश्वरका दुई दर्जनभन्दा बढी पशु चिकित्सकले रिमोटसहित अन्य गाईको सघन उपचार गरिरहेका छन् ।
बाबुरामलाई रिमोटको पीडा खप्न गाह्रो भइरहेका बेला शनिबारको भीषण आगलागीमा परी गर्भवती अवस्थामा ज्यान गुमाएकी ठूली, लुती, लकी, उमा, लक्ष्मीलगायत सबै गाईको मायाले त्यतिकै पीडा दिएको छ । शनिबार बिहानसम्म हराभरा र गाईको आवाजले गुञ्जायमान हुने फार्म सुनसानमय छ ।
‘गहिरो माया लागेर सबै गाईको स्वभावअनुसार नामकरण गरेको थिएँ । नामले बोलाउँदा आज्ञाकारी छोरीजस्तै बुर्लुक्कै उफ्रेर उनीहरू आउँथे । आफ्नै हातले खाना पानी खुवाउँथेु, उहाँ भन्नुहुन्छ, ‘आज यही गोठ मसानघाटजस्तो बन्यो । बरु यति मूल्यबराबरको रुपैयाँ डढेर खरानी भए मलाई कुनै पीडा हुँदैनथ्यो । छोराछोरीजस्तै माया गरेर हुर्काएको हुँदा विछोडको पीडा सहन निकै गाह्रो हुँदो रहेछ ।’
उहाँका अनुसार गाईलाई खाना वा पानी खुवाउन निर्धारित समयभन्दा पाँच मिनेट ढिलो हुँदा ‘ठूलीु गाईले चिच्याएर सबै गाईलाई सार कराउन लगाउँथिन् । ‘लुती’ निक्कै दुब्ली पातली थिइन् । यस्तै, लुतिकी छोरी खरायोजस्तै बुर्लक्क बुर्लुक्क उफ्रिन्थिन् । त्यही भएर उनको नाम ‘खरायो’ थियो । अर्को गाईको नाम ‘लक्की’ थियो । गत दसैंताका जन्मिएकी लकीले धेरै दूध खान पाएकीले उनको नाम लक्की राखिएको थियो । दसैंको समयमा बजारमा दूध बिक्री नहुँदा भए भरका सबै दूध उही लक्कीले खान पाउने सौभाग्य पाएकी थिइन् ।
बाबुरामको गाईसँग निकै गहिरो सम्बन्ध थियो । आमा अस्पतालको कोमा मा रहेका बेला पनि बाबुराम गाईगोठ छाडेर आमालाई हेर्न जानुभएन । हजुरआमा बित्दासमेत घर जानुभएन । आफ्नै सालीको विवाहमा पनि सहभागी हुनुभएन । यसैबाट थाहा हुन्छ, बाबुरामले गाईलाई कति माया गर्नुहुन्थ्यो भनेर ।
बिहानै उठेर गाईकी मुखिया ‘ठूली’ को पूजाआजा गर्नुहुन्थ्यो उहाँ । ‘गाई र मेरो सम्बन्ध नङमासुको जस्तै बनेको थियो,’ बाबुरामले भन्नुभयो, ‘गाईकै मायाले गर्दा आमा कोमामा हुँदा र हजुरआमा बित्दा पनि जान सकिनँ । गाई छोराछोरीजस्तै भइसकेका थिए । उनीहरूकै माया लागेर पछिल्लो ५—६ वर्षदेखि दसैैंको टीका, तिहार, मावली र विवाह व्रतबन्ध केही मानिनँ ।’ भूकम्प र नाकाबन्दीजस्तो कष्टपूर्ण समयमा पनि बाबुराम दम्पती मिलेर ३० वटा गाईलाई स्याहार गर्नुभएको थियो ।
बिहान पौने तीन बजे नै बाबुराम दम्पती ओछ्यान छाडेर १० जना कामदारको सहयोगमा गोबर सोहोर्ने, दूध दुहने र चारापानी खुवाउने गर्नुहुन्थ्यो । गाईगोठ अरुको भरमा छाड्दा समस्या आउला भनेर बाबुराम दम्पती गाईकै गोठमा पाताको सानो कोठाभित्र बस्दै आउनुभएको थियो । अर्थशास्त्रका उपप्राध्यापकसमेत रहनुभएका बाबुराम साताको दुई दिन मंगलबार र बुधबार मात्रै कलेजमा पढाउन जानुहुन्थ्यो । बाँकी सबै दिन गाई गोठमा बिताउनुहुन्थ्यो ।
आगलागी हुँदा बाबुरामले तीनवटा गाईको दाम्लो फुकाउन सक्नुभयो । सबैतिरबाट एकैपटक आगोको लप्काले छुँदा दाम्लोमै रहेका एक सय २२ मध्ये ८१ वटा गाईको जलेर ज्यान गएको हो । बाँचेका ४१ मध्ये डढेर घाइते छन् । घाइते हुनेमा एक सातादेखि तीन महिनासम्मका बाच्छाबाच्छी छन् । फार्ममा ७५ वटा दुधालु गाई, २२ वटा कोरली गाई र बाँकी बाच्छा बाच्छी थिए ।
५० वटा गाई बाबुरामको फार्ममा जन्मिएका हुन् । बाँकी डेढ लाखदेखि अढाई लाखसम्ममा खरिद गरी ल्याइएका हुन् ।आगलागीबाट चार करोडभन्दा बढीको क्षति भएको छ । ६ महिना माथिका सबै गाईको बाबुरामले युनाइटेड इन्सुरेन्समा बिमा गराउनुभएको छ ।
ओम फार्ममा नियमित रूपमा गाईको स्वास्थ्योपचार गर्ने स्थानीय पशु सेवा केन्द्रका पशु चिकित्सक डा. शंकरप्रसाद घिमिरेका अनुसार बाबुराम र गाईको सम्बन्ध निकै गहिरो थियो । ‘गाई बिरामी पर्दा स्लाइन पानी चढाउँदा बाबुरामजीले आफ्नै तिघ्रामा दुई घन्टासम्म स्लाइन राख्नुहुन्थ्यो’, घिमिरेले सम्झनुभयो, ‘पशुको उपचारमा मेरो ३४ वर्ष बित्यो । तर, पशुसँग यति धेरै माया गर्ने मान्छे मैले भेटिनँ । गाई फार्ममा भीषण आगलागी भएको घटना यसअघि मैले फेला पारेको थिइनँ ।’
चिकित्सक टोलीले निःशुल्क रूपमा जलेर सिकिस्त बनेका गाईलाई स्लाइन पानीसहित अन्य अतिआवश्यक उपचार दिइरहेका छन् । वार्षिक १० लाख रुपैयाँ भाडामा लिएर ५० रोपनी जग्गामा गाईफार्म र गाईलाई खुवाउन बाबुरामले घाँसको खेती पनि गर्नुभएको छ । फार्मबाट दैनिक एक हजार लिटर दूध उत्पादन हुन्थ्यो । उत्पादित सबै दूध बजारमा बिक्री हुन्थ्यो । गाई पाल्ने प्रेरणा आमाबाट प्राप्त भएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘गाई पाल्दा सुखी हुने र फाप्ने भन्दै आमाले ०६९ सालमा गाई किन्न ५० हजार रुपैयाँ दिनुभयो । त्यो रकमबाट गाई किनेर पछि बैंकबाट एक करोड ऋण लिएर भक्तपुरमा गाई पालन गर्ने काम सुरु गरे ।’ भक्तपुरमा पानी, घाँस र पर्याप्त जमिन उपलब्ध नभएकाले गत माघमा रुप्सेटारमा बाबुरामले फार्म सार्नुभएको हो।
यसरी भयो आगलागी
भक्तपुरबाट माघममा रुप्सेटार सारिएको गाई फार्मको भौतिक संरचना पूर्ण रूपमा बनिसकेको थिएन । फार्मकोमाथि फलामे संरचना र पाता हालिए पनि तल भने बाँसकै संरचना थियो । आइतबारसम्ममा उक्त बाँसको सम्पूर्ण टहरा हटाउने योजनासाथ शनिबार कामदार खटिएका थिए ।
बिहान ११ बजे बाबुराम दम्पतीसहित कामदार खाना खाएर आराम गर्दै थिए । त्यही बेला एक्कासि विद्युत् सर्ट भई आगलागी भयो । विपरीत दिशाबाट हावा पनि ठूलो चलेकाले पाँच मिनेटमा आगोको मुस्लोले फार्मको चारैतर्फबाट घेरा हालिसकेको थियो । बारुण यन्त्र आउन ढिलाइ भएको र चारैतर्फबाट आगोको मुस्लोले लपक्कै छोपेकाले दाम्लोबाट गाईलाई निकाल्न नसक्दा ठूलो संख्याम गाईको ज्यान गएको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












