ताजा समाचार

गोपाल खड्काविरुद्ध १८ करोड ६६ लाखको भ्रष्टाचार आरोप, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दावीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

खड्कासहित उनको सम्पत्ति लुकाउनमा संलग्न अन्य केहीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले खड्काको २०६९ चैत २ गतेदेखि हालसम्मको आम्दानी र खर्चको विश्लेषण गरेको थियो । यस अवधिमा उनले विभिन्न शीर्षकबाट ८ करोड ६४ लाख ६९ हजार ७८ सय ५१ रुपैयाँ ५३ पैसा आम्दानी गरेको र खर्च तथा लगानी भने २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ ७६ पैसा देखिएको अख्तियारको दावी छ ।

उनले गरेको खर्च तथा लगानीमा वैध आय घटाउँदा बाँकी हुन आएको रकम १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ २३ पैसा गैरकानूनी आर्जन भएको दावीसहित आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जानकारी दिए ।

अख्तियारले १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ २३ पैसा विगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गर्न माग गरेको छ ।

त्यस्तै खड्का नेपाल सरकारको विशिष्ट श्रेणीको हैसियतको पदबाट अवकाश भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय गर्न पनि माग गरेको अख्तियार प्रवक्ता दंगालले बताए । खड्काले गैरकानूनी रूपमा आर्जन गरेको चल अचल सम्पत्तिहरू जफत गर्न पनि अख्तियारले माग गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org