ताजा समाचार

प्रमाणपत्र तहमुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि बन्द हुने

काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले सञ्चालन गरेका प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि बन्द हुने भएका छन् ।

चिकित्सा शिक्षा आयोगको बैठकले सिटिइभिटीको प्रमाणपत्र तहमुनिका र विश्वविद्यालयले सञ्चालन गरेका प्रमाणपत्र तहका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि भर्ना बन्द गर्ने निर्णय गरेको हो ।

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव तथा प्रवक्ता डिल्ली लुइँटेलले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आयोग बैठकले यस्तो निर्णय गरेको हो ।

सिटिइभिटीबाट प्रमाणपत्र तहभन्दा तल सिएमए, अनमीजस्ता चिकित्सा शिक्षासँग सम्बन्धित कार्यालय सञ्चालन हुँदै आएका थिए ।

उनले विद्यार्थीले एसइई उत्तीर्ण गरेपछि सीधै स्टाफ नर्सलगायतका चिकित्सा शिक्षाका विषय अध्ययन गर्न पाउने व्यवस्था रहेकोले प्रमाणपत्र तहमुनिका कार्यक्रम पढ्न आवश्यक नरहेको बताए ।

‘प्रमाणपत्र तहमुनिका कार्यक्रम अध्ययन गरेका विद्यार्थीलाई लक्षित गरेर सरकारी सेवामा समेत विज्ञापन हुन छाडेको छ,’ उनले भने, ‘एसइईपछि प्रमाणपत्र तहका कार्यक्रम पढ्न पाइन्छ र त्योभन्दा मुनि विज्ञापन नहुने भएपछि विद्यार्थीले पढ्ने, तर कामको अवसर नहुने भएपछि यस्तो व्यवस्था भएको हो ।’

आयोगको यो निर्णयसँगै सिटिइभिटीको कार्यक्रम सञ्चालन गरेका एक सय ३७ संस्थाका दुई सय ३८ कार्यक्रम बन्द हुने भएका छन् ।

सिटिइभिटीका सदस्यसचिव पुष्परमण वाग्लेका अनुसार स्वास्थ्य शिक्षाका कार्यक्रम प्रत्येक वर्ष १० हजार विद्यार्थीले पढ्दै आएका थिए ।

उनले सिटिइभिटीले सरकारको निर्णय कार्यान्वयन गरेको, तर प्रमाणपत्र तहमुनिका स्वास्थ्य शिक्षा कार्यक्रम हटाइएपछि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पाउनेमा चुनौती थपिएको उनले बताए ।

अब विश्वविद्यालयका क्याम्पसले सञ्चालन गरेका प्रमाणपत्र तहको नर्सिङलगायतका कार्यक्रम बन्द हुने भएका छन् ।

विश्वविद्यालयका अन्य कार्यक्रम खारेज भएको वर्षौं हुँदा पनि चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन हुँदै आएका थिए ।

अब प्रमाणपत्र तहका सबै कार्यक्रम सिटिइभिटीबाट सञ्चालन हुने भएका छन् भने सिटिइभिीबाट सञ्चालन भएका प्रमाणपत्र तहमुनिका कार्यक्रम यसै शैक्षिक सत्रदेखि बन्द हुने भएका छन् ।

आयोगले स्नातकोत्तर तहको चिकित्सा शिक्षासम्बन्धी कार्यक्रमको सिटसमेत निर्धारण गरेको छ ।

प्रमाणपत्र तहमुनिका कार्यक्रम चलाएका संस्थाले स्तरोन्नति गर्न पाउने

राष्ट्रिय चिकित्सा ऐनको दफा १५ मा ऐन प्रारम्भ भएपछि परिषद्ले प्रमाणपत्र तहमुनिका स्वास्थ्य शिक्षासम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रमहरू सञ्चालन नगर्ने उल्लेख छ ।

परिषद्ले सञ्चालन गरेको प्रमाणपत्र तहमुनिका स्वास्थ्य शिक्षासम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रम हटाउने र तोकेको मापदण्डबमोजिम स्तरोन्तति गरिने उल्लेख छ ।

आयोगका सदस्यसचिव लुइँटेलले प्रमाणपत्र तहमुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन गरेका शैक्षिक संस्थाले तोकिएको मापदण्ड पूरा गरेमा मिल्दो विषयमा प्रमाणपत्रको कार्यक्रम सञ्चालन गर्न स्वीकृति पाउने बताए ।

ऐन कार्यान्वयन भएको दुई वर्षभित्रमा स्तरोन्नति गर्न पाउने व्यवस्था भएकाेमा त्यसका लागि अझ केही महिना बाँकी रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org