ताजा समाचार

कीर्तिपुर मैदानको फ्लड लाइटका लागि टेन्डर नै परेन

काठमाडाैँ । नेपालमा रहेको एक मात्र अन्तर्राष्ट्रियस्तरको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि आह्वान गरेको फ्लड लाइटको टेन्डर अहिलेसम्म कुनै पनि कम्पनीले दाबी गरेका छैनन् ।

राष्ट्रिय खेलकुद परिषद्ले दोस्रोपटक टेन्डर खुलाएको छ । कसैले पनि मागअनुसार टेन्डर भरेका छैनन् । परिषद्ले दोस्रोपटक मैदानमा फ्लड लाइट र डिजिटल स्कोर बोर्डका लागि भ्याटबाहेक २८ करोडको टेन्डर आह्वान गरेको छ ।

गत चैतमा त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग–२ मा युएईविरुद्धको खेल हेर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै फ्लड लाइट र डिजिटल स्कोर बोर्ड जडान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । विश्वकप क्रिकेट लिग–२ को शीर्ष स्थानमा रहँदै छनोट भएको थियो ।

एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको नेपाली टोलीलाई प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीनिवास बालुवाटारमा खेलाडीलाई बधाइ दिएका थिए । उनले मैदानमा देखिएको समस्याको सम्बोधन गर्दै सम्बन्धित निकायलाई आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न राखेप र खेलकुद मन्त्रालयलाई निर्देशन दिएका थिए । उनले मूलपानी मैदान र चितवनमा रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउन चासो देखाएका थिए । यद्यपि, मूलपानी र चितवनमा रोकिएको काम सुचारु भएको छैन ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै राष्ट्रिय खेलकुद परिषद्ले टेन्डर आह्वान गरेको हो । दोस्रोपटकको टेन्डर भर्ने मिति पनि सकिन लागेको परिषद्ले जनाएको छ । ‘प्रधानमन्त्रीज्यूको निर्देशनसँगै टेन्डर आह्वान गरेका थियौँ । पहिलोपटकको टेन्डर परेन, अहिले हामीले दोस्रोपटक पुनः आह्वान गरेका छौँ,’ परिषद्का सदस्यसचिव टंकलाल घिसिङले भने, ‘कुनै न कुनै कम्पनीले दाबी गर्ने विश्वास छ ।’

एकदिवसीय ग्लोबल छनोटमा नेपालले स्थान बनाउन विश्वकप लिग–२ को तेस्रो स्थान रक्षा गरेको थियो । नेपालले त्रिवि मैदानमा खराब प्रकाशपछि संयुक्त अरब इमिरेट्स (युएई)लाई ६ विकेटले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको थियो । खराब मौसम र प्रकाशका कारण एसिसी प्रिमियर कपका केही खेल प्रभावित बनेका थिए । त्रिवि मैदान र मूलपानीको माथिल्लो मैदानमा एसिसी प्रिमियर कप भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org