ताजा समाचार

हमासविरुद्ध लड्न युद्धपोत र लडाकु विमान इजरायलतर्फ पठाउँदै अमेरिका

एजेन्सि । हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि अमेरिकाले इजरायलको समर्थन गर्दै हतियार दिने वाचा गरेको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले हमासविरुद्ध लड्न पूर्वी भूमध्य सागरमा अमेरिकी युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड, युद्धक विमान, एक मिसाइल क्रुजर, चार क्षेप्यास्त्र र गोलाबारुद पठाउने घोषणा गरेका हुन् । हमासको आक्रमणमा इजरायल, अमेरिका, नेपालका साथै कयौँ देशका नागरिकहरू पनि मारिएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यस विषयमा भनेको छ, ‘हामी थप सैन्य सहायता दिनेछौँ । साथै इजरायलको दुश्मनले यो स्थितिको फाइदा नउठाओस् भनेर अमेरिकाले अन्य काम पनि गर्नेछ ।’ इजरायलका अनुसार हालसम्म हमासको आक्रमणमा इजरायलमा रहेका ७ सय मानिसले ज्यान गुमाइसके । हमासका लडाकुले सयभन्दा बढी मानिस अपहरण पनि गरेका छन् ।

यस्तोमा इजरायलले हमासविरुद्ध जवाफी कारबाही थालिसकेको छ । इजरायलका सेनाहरू ट्यांकलगायतका हतियारसहित हमास लडाकु रहेका सीमा क्षेत्रमा जाँदैछन्, जहाँबाट अपहरणमा परेका मानिसहरू छुटाउन सकियोस् । इजरायलसँगै विदेशी नागरिकहरू अपहरणमा परेको आशंका छ ।

यस्तै, इजरायका सेनाले हवाई आक्रमण गर्दा प्यालेस्टाइनको गाजा क्षेत्रमा चार सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने २३ सयभन्दा बढी मानिस घाइते भएका छन् । गाजा क्षेत्रका भवनमा इजरायलको जवाफी कारबाहीले ठूलो क्षति पुगेको छ ।

बीबीसीको रिपोर्टअनुसार शनिबार हमासको आक्रमणले एकै स्थानमा २६० जनमा मानिसले ज्यान गुमाएका थिए । दक्षिणी इजरायलको एक मरुभूमिमा आयोजित संगीत महोत्सवमा रकेट मात्र आक्रमण गरिएन, हमासका लडाकुहरूले त्यहाँ घुसेर अन्धाधुन्ध गोलीसमेत चलाएका थिए ।

इजरायल र प्यालेस्टाइनबीच मुख्य गरी वेस्ट ब्यांक र पूर्व जेरुस्लमको विषयमा लामो समययता विवाद छ । यो दुवै क्षेत्र सन् १९६७ को मध्य-पूर्वको युद्धपछि इजरायलको नियन्त्रणमा गएको थियो । प्यालेस्टाइनको लडाकु समूह हमासले आफ्नो भूभाग फिर्ता गर्न युद्ध इजरायलसँग लडिरहेको बताउने गर्दछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org