ताजा समाचार

आगामी माघभित्रमा १ लाख १७ हजार नेपालीले बायोमेट्रिक्ससहितको राष्ट्रिय परिचयपत्र पाउने

काठमाडाौं, १५ असार । अब नागरिकताको विकल्पमा बायोमेट्रिक्ससहितको राष्ट्रिय परिचयपत्र बन्ने भएको छ । गृहमन्त्रालयले आगामी माघ भित्रमा १ लाख १७ हजार नेपालीलाई बायोमेट्रिक्ससहितको राष्ट्रिय परिचयपत्र वितरण गर्नेगरी तयारी गरिरहेको छ । सबै नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरणलाई एकीकृत गरी इलेक्ट्रोनिक रुपमा भण्डारण हुने गरी बायोमेट्रिक्स स्मार्ट कार्ड वितरण गर्न लागेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले पहिलो चरणमा कुनै निश्चित जिल्लाका १ लाख १० हजार नागरिक र सिंहदरबार भित्र कार्यरत ७ हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको हो। त्यसका लागि असार ८ गतेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय परिचयपत्रको डिजाइनलाई स्वीकृत दिइसकेको छ ।

गृहले पहिलो चरणमा कुन जिल्लाका जनतालाई परिचयपत्र वितरण गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको जनाएको छ । गृहमन्त्रालयलको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले कार्ड प्रशोधन केन्द्रको तयारी भइसकेको र आवश्यक हार्डवयर तथा सफ्टवेयरको आपूर्ति गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org