ताजा समाचार

तरकारी देखि एक सय रुपैयाँसम्म घुस लिने २ हवल्दारसहित १० ट्राफिक प्रहरी निलम्बनमा

काठमाडौं, २० असार । घुस खाएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरूलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी तथा नगद रुपैयाँ असुली गरेको फेला परेपछि कारबाही गरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार कारबाहीमा पर्नेमा दुई हवल्दारसहित आठजना प्रहरी जवान छन् ।

लामाले प्रहरी हवल्दारद्वय लेखनाथ यादव र दीपक बोहोरा, प्रहरी जवानहरू भरत कार्की, मानदेव चौधरी, भरतबहादुर चन्द, लक्षुमन साह, रमेश राउत, विनोदकुमार गिरी, बालेश्वर यादव र गोपाल पोखरेल कारबाहीमा परेको बताए ।

घुसमा तरकारी पनि

कालिमाटीमा तरकारी तथा रकम असुलेको आरोपमा प्रहरी हवल्दार यादव र प्रहरी जवान चौधरी कारबाहीमा परेका छन् । भाडा ट्रकबाट एक सय रुपैयाँ असुलेको आरोपमा स्वयम्भू वृत्तका प्रहरी जवान कार्की परेका छन् । यस्तै, ड्युटीमा मादक पदार्थ सेवन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी हवल्दार भरतबहादुर चन्द कारबाहीमा परेका छन् ।

भाडाको ट्रकबाट दुई सय रुपैयाँ असुली गरेको आरोपमा लक्षुमन साह, माइतीघरमा स्कुटर चालकबाट एक हजार असुलेकोमा यादव र कोटेश्वरमा ट्याक्सी चालकसँग पाँच सय रुपैयाँ लिएको आरोपमा गिरी कारबाहीमा परेका हुन् ।

जमलमा होटेल सञ्चालन गर्ने महिलालाई दुर्व्यवहार गरेकाले राउत कारबाहीमा परे । त्यस्तै, मैतीदेवीमा मोटरसाइकलचालकबाट पाँच सय लिई छाडेको आरोपमा पोखरेललाई कारबाही गरिएको डिआइजी लामाको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org