ताजा समाचार

बस पल्टिँदा घाइते सातमध्ये २ को मृत्यु, मृतकमा तीन महिनाकी बालिका र उनका पिता

चितवन, २० असार । इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा यात्रुबाहक बस पल्टिँदा घाइते भएका सात जनामध्ये दुईजनाको ज्यान गएको छ । आज विहान करिव २ बजेतिर काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएर नालातर्फ पल्टिएको थियो ।

घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु र निजकी तीन महिनाकी छोरीको ज्यान गएको प्रहरीले जनाएको छ । उपचारका लागि गजुरी अस्पताल लैजाँदै गर्दा कैलाली घर भएका ३२ वर्षीय थारु र निजकी छोरीको बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

तनहुँको आँबुखैरेनीस्थित छिम्केस्वरी अस्पतालमा पठाएका पाँचजना घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । तीमध्ये चालक कैलालीका ४५ वर्षीय दिनेश राना र मृतक थारुकी श्रीमती गम्भीर घाइते रहेको थापाले बताए । अन्य तीनजनाको अवस्था भने सामान्य रहेको छ । बसमा सवार २७ जनामध्ये सकुशल रहेका २० जनालाई अन्य बसमा चढाएर गन्तव्यतर्फ पठाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org