ताजा समाचार

३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिने

सिन्धुपाल्चोक, १ साउन । नयाँ आर्थिक वर्षमा निजी क्षेत्रबाट सन्चालित सिन्धुपाल्चोकका तीन जलविद्युत् आयोजनाबाट थप २९.६ मेगावाट विद्युत् उत्पादन भइ राष्ट्रिय प्रसारणलाइनमा जोडिने भएको छ । वैशाख १२ गतेको भूकम्प, भारतीय नाकाबन्दी र बाढी–पहिरोले क्षति पुर्‍याइ बन्द भएको ४.२ मेगावाटको बराम्ची जलविद्युत् आयोजना, लक्ष्यभित्र सम्पन्न हुन नसकेका २२.२ मेगावाटको चाकु ‘ए’ र ३.२ मेगावाटको गेलुङखोला आयोजना चाँडै नै सम्पन्न भएपछि थप विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिने भएको हो ।

२०७२ वैशाखमा सम्पन्न गरिने लक्ष्य रहेको भोटेकोसी करिडोरअन्तर्गत् शिवश्री हाइड्रो पावरद्वारा निर्माण भइरहेको २२.२ मेगावाटको चाकु ए आयोजना आगामी माघ महिनामा सम्पन्न गरिने कार्यकारी निर्देशक उमेश कसजुले बताए । सो आयोजना सम्पन्न हुने बेलामा भूकम्पले ठूलो क्षति पुर्‍याएपछि दुई वर्ष ढिलाइ भएको हो ।

पुनःनिर्माणको काम अगाडि बढाइरहेकै अवस्थामा नाकाबन्दी र गत वर्ष असार तेस्रो साता तिब्बतबाट भोटेकोसीमा आएको बाढीले बाह्रबिसे–तातोपानी २६ किकि सडकखन्ड ध्वस्त भइ लामो समयसम्म यातायात बन्द भएको थियो । हाल सो आयोजनाको काम तीव्ररुपमा भइरहेकाले आगामी माघसम्म सम्पन्न भइ विद्युत् उत्पादन हुने बताइएको छ ।

जुगल गाउँपालिकाअन्तर्गत् हगामस्थित ३.१ मेवाको गेलुङखोला आयोजनाबाट आउँदो असोज महिनाभित्र विद्युत् उत्पादन हुनेछ । त्यसलाई भूकम्प र बाढीपहिरोको असरले गर्दा निर्धारित् समयभन्दा दुई वर्षपछि सम्पन्न भएको हो ।

निजी क्षेत्रबाट सन्चालित ४.२ मेगावाटको बरम्चीखोला आयोजना भूकम्पबाट क्षति पुगेपछि विगत दुई वर्षदेखि बन्द छ । सो आयोजनालाई आगामी कात्तिकसम्म पूर्णरुपमा सन्चालनमा ल्याइने भएको छ । विनाशकारी भूकम्प र बाढीका कारण सन्चालनमा आइरहेको ४५ मेगावाटको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजना विगत दुई वर्षदेखि बन्द छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org