ताजा समाचार

बीपी राजमार्गमा राति सवारी चलाउन निषेध, पूर्व चल्ने गाडी दिउँसो ४ बजेभित्रै छुट्नुपर्ने

काठमाडौं, १ साउन । बीपी राजमार्गमा राति सवारी चलाउन निषेध गरिएको छ । यातायात ब्यवस्था विभागले दुर्घटना बढेको निश्कर्ष निकाल्दै आज आइतबारदेखि बीपी राजमार्गमा रातिको समयमा सार्वजनिक सवारी चलाउन रोक लगाएको हो । यो राजमार्गमा रातको समयमा बढी दुर्घटना भएकाले बेलुका ६ बजेदेखि विहान ५ बजेसम्म सार्वजनिक सवारी चल्न रोक लगाइएको यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए ।

नेपालथोक-भीमान सडक खण्डमा यो ब्यवस्थालाई कडाइ गर्न लागिएको हो । रातको समयमा रुट पर्मिट नभएका सवारी पनि चल्दा दूर्घटनाको जोखिम बढेको र सडकको अवस्था पनि बिग्रने स्थिति आएकाले यस्तो नियम ल्याइएको प्रवक्ता डा. पाण्डेले बताए । यसैगरी आइतबारदेखि नै लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधनले गोंगबु तथा पुरानो बसपार्कलाई नै आगमन तथा प्रस्थानको विन्दु बनाउनुपर्ने भएको छ ।

अब नयाँ बसपार्कबाट छुटेका सवारी जोरपाटी र कोटेश्वर हुँदै कलंकी आए ट्राफिक तथा यातायात ब्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना लगाउनेछ । अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारीसाधन कलंकीबाट सिधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलंकीबाट सिधा बाहिरिनुपर्ने छ ।

लामो दूरीका सवारीसाधन यात्रु लिएर उपत्यकाका विभिन्न स्थानमा लैजाने तथा ल्याउने गरेपछि ठाउँ-ठाउँमा जाम हुने समस्या बढेकाले यो ब्यवस्था गरिएको विभागका प्रवक्ता डा. पाण्डेले बताए । नियम नमान्ने सवारी साधनलाई आजैदेखि कारबाही सुरु गरिएको पाण्डेले बताए ।

पूर्व चल्ने रात्री बस दिउँसो ४ बजेभित्रै छुट्नुपर्नेः

काठमाडौंबाट नागढुंगा नाका भएर पूर्वका लागि चल्ने रात्री बस दिउँसो ४ बजेसम्म कलंकीबाट छुटिसक्नुपर्ने भएको छ । आगामी बिहीबारदेखि पूर्व चल्ने रात्री बसल दिउँसो ४ बजेसम्म कलंकीबाट छुटिसक्नुपर्ने भएको हो । रातमा मुग्लिन-नारायणगढ सडक खण्ड बन्द हुने भएपछि त्रिभुवन राजपथ प्रयोग गर्ने रात्री बसहरुलाई ब्यवस्थित गर्न बाहिरिने समयसीमा तोकिएको हो ।

यातायात ब्यवस्था विभागले साउन ५ गतेदेखि लागू हुने गरी मेची र कोशी अञ्चलमा जाने रात्री बस दिउँसो तीन बजे बसपार्कबाट छुटिसक्नुपर्ने नियम बनाएको प्रवत्ता डा. पाण्डेले बताए । त्यसैगरी सगरमाथा र जनकपुर अञ्चलमा लागि जाने सवारी पनि ४ बजे छुटिसक्नुपर्ने नियम बनाइएको छ ।

रातमा चल्ने पूर्वका बसहरुले मुग्लिनको जाम छल्न नौबिसे-पालुङ-हेटौंडाको बाटो प्रयोग गर्छन् । यी रात्री बसहरुलाई रातको ९ बजेसम्म नौबिसे कटिसक्नुपर्ने नियम पनि लगाइने प्रवक्ता पाण्डेले बताए ।

यो त्रिभुवन राजपथमा ठूला बसहरुको आवागमन सहज गर्न ६ चक्काभन्दा ठूला मालबाहक ट्रकहरुलाई चल्न पनि विभागले निषेध गरेको छ । अब १० र १२ चक्के ट्रक नौबिसे-पालुङ-हेटौंडा खण्डमा चल्न नपाउने भएका छन् । विभागले रात्रीसेवामा काठमाडौं आउने सवारीलाई रातको २ बजेपछि मात्रै भीमफेदीबाट काठमाडौंतर्फ छोड्ने अर्को नियम पनि बनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org