ताजा समाचार

जिल्ला अदालत म्याग्दीद्वारा एक वर्षमा २६६ मुद्दा फर्स्योट

म्याग्दी, १० साउन । जिल्ला अदालत म्याग्दीले गत आर्थिक वर्षमा २६६ मुद्दा फर्स्योटट गरेको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ६८ र गत वर्ष दर्ता भएका २६४ गरी कूल ३३२ मुद्दा रहेकामा २६६ वटा फस्र्योट गरेको हो । कूल मुद्दामध्ये ८० दशमलव १२ प्रतिशत मुद्दा फर्स्योट भएको जिल्ला अदालत म्याग्दीले जनाएको छ । बाँकी ६६ वटा मुद्दा चालू आवका लागि जिम्मेवारी सरेका छन् । अदालतले गत वर्ष २७६ वटा मुद्दा फस्र्योट गर्ने लक्ष्य राखेको थियो ।

अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका सबै मुद्दा फर्स्योटट भएको जिल्ला अदालत म्याग्दीका स्रस्तेदार राजु ढुंगानाले जानकारी दिनुभयो । सबैभन्दा बढी सम्बन्ध विच्छेदका १३० वटा मुद्दा परेकोमा ११८ वटाको फैसला भएको र चालू आवमा १२ वटा मुद्दाको जिम्मेवारी सरेको छ ।
यसैगरी तहसिलतर्फ अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका १५ र २०७३/७४ मा दर्ता भएका ३८ वटा निवेदनमध्ये ३६ वटाको फस्र्योट भएको र १७ वटाको चालू आवमा जिम्मेवारी सरेको तहसिलदार नायब सुब्बा धर्मराज सुवेदीले जानकारी दिनुभयो । फैसला कार्यान्वयनमा अदालतले लक्ष्यभन्दा बढी सफलता हासिल गरेको छ ।

गत आवमा कैदतर्फ ८१ वर्षको सजाय असुलउपर गर्ने लक्ष्य राखिएकामा ९८ वर्ष नौ महिना २२ दिन बराबरको असुल भएको छ । यसैगरी रु छ लाख ७६ हजार ५२७ जरिवाना असुलउपर गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा अदालतले रु १५ लाख १५ हजार २१६ असुल गरेको तहसिलदार सुवेदीले जानकारी दिनुभयो ।

अदालतबाट विभिन्न समयमा भएको फैसला कार्यान्वयनका लागि २९५ लगतमा दोषी ठहरिएका व्यक्तिबाट ८०९ वर्ष चार महिना १६ दिन कैद र रु ७४ लाख ४६ हजार ८२२ जरिवाना असुल गर्न बाँकी छ । फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी, स्थानीय प्रशासन, मालपोत, नापी र साविकका गाविस कार्यालयमा लगत पठाई सहयोग माग्नुका साथै विभिन्न समयमा कर्मचारी खटाउने गरिएको स्रेस्तेदार ढुंगानाले बताउनुभयो । दोषीलाई पक्राउ गरेर ल्याउनेलाई जरिवानाको २५ प्रतिशत र कैद सजायको एक महिनाको रु १५० का दरले प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org