ताजा समाचार

आगामी हिउँदमा देश उज्यालै रहने, लोडसेडिङ हुन नदिन कुलमानको यस्तो तयारी

काठमाडौं, ११ साउन । आगामी हिउँदमा लोडसेडिङ बढ्ने हल्ला चलिरहेको छ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउन चालेका कदमहरु बन्द भएपछि हिउँदमा अन्धकारमा बस्नुपर्ने चर्चा चलिरहेको छ । तर विद्युत् प्राधिकरणले भने आगामी हिउँदमा लोडसेडिङ हुन नदिन गृहकार्य थालेको छ । भारतबाट थप सय मेगावाट बिजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी थालेको हो ।

भारत सरकारको अनुदानमा निर्मित १३२ केभीका दुई छुट्टाछुट्टै प्रसारण लाइनबाट ५०/५० मेगावाट बिजुली ल्याई गार्हस्थ लोडसेडिङ हुन नदिने तयारीमा प्राधिकरण लागिपरेको छ । त्यसको लागि प्राधिकरणका अधिकारीहरुले भारतीय पक्षसँग छलफल गरिरहेका छन् ।

भारतले पुसमा निर्माण सम्पन्न गरेको कुसाहा-कटैया र रक्सौल-परवानीपुर प्रसारण लाइनबाट नेपालले आयात गर्ने थप बिजुलीको भाउ तय गर्न लागेको प्राधिकरणको विद्युत् व्यापार विभाग प्रमुख प्रवल अधिकारीले बताए । यी दुई प्रसारण लाइनबाट आउने बिजुलीको भाउ तय भएपछि आगामी हिउँदमा सय मेगावाट बिजुली आयात हुने अधिकारीले जानकारी दिए ।

‘निर्माण सम्पन्न भएर पनि भाउ तय नभएका कारण यी लाइन (कुसाहा र रक्सौल) बाट थप बिजुली आयात भएको छैन’, अधिकारीले भने, ‘व्यापारिक तवरमा आयात हुने भाउ छिनोफानो भएपछि नेपालमा बिजुली आयात गर्न सहज हुनेछ ।’ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विद्युत्मन्त्री पीयूष गोयललाई भेटी नेपाल-भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को बैठक राखी थप आयात हुने बिजुलीको भाउ तय गर्न आग्रह गरेका थिए ।

उपाध्यायको आग्रह स्वीकार गर्दै भारतीय विद्युत्मन्त्री गोयलले सम्बद्ध भारतीय अधिकारीलाई निर्देशन दिएपछि बैठक बस्न लागेको हो । नयाँदिल्लीस्थित नेपाली दूतावासले यही साउन ४ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाई बैठक बस्न लागेको अवगत गराएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org