ताजा समाचार

यसरी ठग्छन् ट्याक्सी चालकले रातमा

रातको समय थियो । घडीमा १ः३५ बजेको थियोे । म र भाई स्कुटीमा कलंकी चोक पुग्यौ । जहाँ ट्याक्सीको लाइन थियो । ड्राइभर आनन्दले सुतेझैँ देखिएका थिए । त्यसबेला मैले २०७२ सालमा गएको भूकम्पको सम्झना गरेँ । त्यतिबेला हामी पुरै गाउँका मानिस, उक्त ट्याक्सी लाइन जसरी सुतेका थियौँ । त्यो समयलाई सम्झँदा अहिले पनि मेरो शरीर काम्छ । खैर, छोडौँ यो कुरा ! यहाँनिर कुरो अर्कै छ ।

म एउटा ट्याक्सीको नजिक गएँ दाई–दाई भनेर दुईचोटी बोलाएँ । तर, त्यो ड्राइभर उठ्न त परै जाओस् झन घुर्न पो थाल्यो । भाई पनि त्यसैगरी अर्कोलाई बोलाउँदै रहेछ । धन्न त्यो उठ्यो । उसलाई बोलाएको सुनेर अरू ड्राइभर पनि आँखा मिच्दै झ्यालबाट मुन्टो बाहिर निकालेर के–के न भएझैँ गरी हेर्दै थिए । दाई, बालमैत्री हस्पिटल लगिदिनुस् न ! भनेर मैले भाइले उठाएको ड्राभरको सामु गएर भनेँ । ड्राइभरले कति दिनुहुन्छ भन्यो । मैले कतिमा लगिदिनुहुन्छ, लैजानु पनि भएको होला भनेँ । उसले अँ लगेको छु, रातको समय हो, दिनुस् न रु २००० भन्यो । म अचम्मित भएँ ! ऊसँग एक शब्द नबोली हामी अर्को ट्याक्सी भएको ठाउँमा पुग्यौँ । अर्कोले पनि भृकुटीमण्डपमा ती ताँती मिलेर बसेका पसलेहरूले सबै पसलमा कपडाको मूल्य उही बताएझैँ उसले पनि रु २००० नै भन्यो । त्यसपछि मेरो टाउको भाउन्न भयो । घरमा एक वर्षको छोरो कोलाहाल गरेर रोएको तीन घण्टाभन्दा धेरै भइसकेको थियो । ऊ न बोल्न जान्थ्यो न कतै यो भएको छ भनी देखाउन नै सक्थ्यो । केहि समय त ठिक होला भनेर बोकेर पुरै घर डुलाइयो । तर, उसको रुवाई झन–झन बढ्दै गयो । त्यसपछि हामी सबै आत्तियौँ । स्कुटिमा लैजाऊ भने पनि बाहिरको मौसम आफूले मागेको कुनै कुरा नपाउँदा रोएको बालकले जस्तै अँध्यारो मुख लगाएर कतिखेर सुसाउँदै बर्षाको धारा बगाउने पत्तो नभएझैँ देखिन्थ्यो । त्यसपछि शरिर चिसो बनाउँदै भाई र म ट्याक्सी खोज्न निस्किएका थियौँ । २० मिनेट भैसकेको थियो ट्याक्सी लिन गएको । पैसाको कुरा नमिलेर हामी दिक्क भैसकेका थियौँ । भाईले रु २००० नै तिरेर भने पनि जाऊँ उता भान्जोलाई गाह्रो भइसक्यो होला भन्यो । सातौँ ट्याक्सिमा पुगेपछि हामीले जति भन्छ त्यती नै दिने निधो गर्यौ । ड्राइभरलाई दाई हामीलाई बालमैत्री हस्पिटलसम्म लगिदिनुस् न भनेर मैले भने ! उसले पहिलो ड्राइभरले भनेको जस्तैगरी कति दिनुहुन्छ भन्यो । म हैरान भैसकेको थिँए, सबैको रेट उही सुनेर तै पनि उसलाई मैले बिरामी लिएर जान लागेको दाई मिलाएर लगिदिनुस् न भनेँ,उसले भन्न त रु २००० भन्ने हो, हिँड्नुस् रु १००० मै लगिदिन्छु भन्यो । छ जनालाई मिटरमा जाऊँ न त जति उठ्छ त्यती दिन्छु रु २००० त धेरै भयो भन्दा मानेका थिएनन् । फेरि एकपटक यसलाई पनि मिटरमा जाऊँ भन्न प¥यो भनेर सोचेँ । तर यसले रु २००० बाट घटाएर रु १००० मा लगिदिन्छु भनेको हुनाले केही नभनी त्यही सर्तमा हामी हस्पिटल गयौँ र हामीले उसलाई रु १००० नै दियौँ ।
के १००० रुपैँया लाग्ने नै हो त बालमैत्री हस्पिटल गएको ? यो कुनै नौलो र बनावटी कुरा होइन । दुई–चार दिन अघिको ताजा कुरा हो । हामी नेपालीमा किन लोभ–मोह बढि छ ? त्यो पनि अर्कालाई लुट्नमा ! मानवताको नाता पटक्कै छैन । अनि कहिले देश सप्रिने सडकमा ? कमाउन बसेकादेखि महलमा रमाउन बसेका समेत निम्न वगीृय जनतालाई ठगेर सम्पती थुपार्नु पर्छ भन्ने ध्याउन्नमा लागेका छन् जस्तो अनुभूति पंक्तिकारलाई हुन्छ । मैले त सकेँ १००० रुपैँया तिर्न, के सबैले भनेजति तिर्न सक्छन् ? कतिका बालबच्चा बिरामी पर्छन् होला रातको समयमा ? भनेजति पैसा तिर्न सक्ने हैसियत सबैको हुन्छ ? टाढा–टाढाबाट आएर डेरामा बसेका छन्, तिनीहरुको पनि बालबच्चा होला, नजिक कुनै स्वास्थ्य संस्था नहुन पनि सक्छ । यस्तो अवस्थामा राती घरमा बच्चा बिरामी हुन्छ न बाहिर सडकमा भाडाका सवारी गुडेका हुन्छन् त केवल पैसा असुल्न बसेका ट्याक्सी भनौँदाहरू !  साथमा केटा मानिस नहुने हो भने इज्जत नै लुटिनेसम्मको डर हुन्छ । अब के गर्ने ? सधैँ लुटेराहरूलाई मनोमानी गर्न दिइरहने ? त्यसैले यसतर्फ मुख्यतः ट्याक्सी ड्राइभरको ध्यान जानु जरुरी छ । सबै ड्राइभर त्यस्ता नहोलान् तर धेरै त्यस्ता छन् जो सँग कुनै मानवीयता नै छैन जस्तो लाग्छ । ट्याक्सीको भाडाको विषयमा पनि सम्बन्धीत निकायले नियमित अनुगमन गर्नुपर्ने देखिन्छ । मिटर नराख्ने, मिटरमा हिँड्न नमान्ने ट्याक्सीवालाहरूलाई कडा कारवाही गर्नुपर्छ ।

 

यो पनि पढ्नुहोस्

http://news-nepal.com/%e0%a4%9f%e0%a4%bf%e0%a4%aa%e0%a5%8d%e0%a4%aa%e0%a4%a3%e0%a5%80-%e0%a4%b5%e0%a4%be%e0%a4%a3%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%8f/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org