ताजा समाचार

कोमल ओलीले राप्रपा छाडिन्, एमालेमा प्रवेश गर्ने, एमालेले सांसद बनाउने

काठमाडौं, ७ असोज । गायिका कोमल ओलीले राप्रपा छोडेकी छन् । राप्रपा केन्द्रीय सदस्य रहेकी ओलीले राप्रपा छोड्दै एमालेमा प्रवेदश गर्ने भएकी हुन् । राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रहेकी कोमल सोमबार अध्यक्ष केपी ओलीका हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्न लागेकी हुन् ।

कोमल ओलीसँगै दाङका व्यवसायी एवं कांग्रेस नेता बलिभद्र राना पनि एमालेमा प्रवेश गर्न लागेका एमाले स्रोतले जनाएको छ । राना र ओलीलाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैं दाङ जाने भएका छन् । कोमल ओलीले यसबीचमा एमाले प्रवेशका लागि माधव नेपाल लगायतका पार्टी नेताहरुसँग छलफल गरेकी थिइन् । राप्रपा विभाजनपछि निराश बनेकी ओलीले एमालेका नेताहरुसँग छलफल अघि बढाएकी हुन् । उनले यसबीचमा एमाले प्रवेश गर्नेहरुको एउटा सूची नै बनाएकी छिन् ।

राप्रपामा केन्द्रीय सदस्य जितेर पनि जिम्मेवारीविहीन बनाइएको गुनासो गर्दै एमालेमा प्रवेश गर्न लागेकी ओलीले पार्टीमा पाइने जिम्मेवारीका बारेमा समेत नेताहरुसँग छलफल गरेको बताइएको छ । उनी रेडियो नेपालको जागिर छाडेर पूर्णकालीन राजनीतिमा संलग्न भइसकेकी छन् ।

कोमल ओलीले स्थायी कमिटी सदस्य शंकर पोखरेलमार्फत एमाले प्रवेशका लागि वार्ता चलाएकी हुन् । पोखरेल र ओली दाङको एउटै क्षेत्रका हुन् । दाङको तुलसीपुर र घोराही उपमहानगरपालिका सहित बहुसंख्यक स्थानीय तह जितेपछि एमाले दाङमा प्रभाव बढाउने रणनीतिमा छ ।

कोमल ओली र बलिभद्र रानालाई एमाले प्रवेश गराउँदा चुनाव जित्न सहज हुने देखेर एमाले नेता पोखरेल खटिएका थिए । रानालाई माओवादी नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि माओवादी प्रवेश गराउन चाहेका थिए । गायिका कोमल ओली र नायिका रेखा थापा एकसाथ राप्रपामा प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए । राप्रपा फुटेपछि ओली कमल थापा समूहमा थिइन् भने रोखा चाहिँ पशुपतिसमशेर राणा समूहमा लागेकी छिन् । ओली एमालेमा प्रवेश गरे पनि रेखाले भने पार्टी परिवर्तनको निर्णय गरेकी छैनन् ।

कोमल ओलीलाई एमालेले प्रदेशसभाको प्रत्यक्ष वा प्रतिनिधिसभाको समानुुपातिकतर्फको सांसद बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ । जताबाट भए पनि कोमल अब एमालेबाट सांसद बन्ने सम्भावना रहेको उनी निकट स्रोतले बतायो । उनी राप्रपामा पनि सांसद पाइने आशमा प्रवेश गरेकी थिइन् । तर राप्रपाको शक्ति कमजोर भएपछि उनले त्यहाँबाट आफ्नो भविश्यको सम्भावना नदेखेपछि दलबदल गरेको राप्रपाका एक नेताले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org