ताजा समाचार

कामकाे ज्याला माग्दा वडाध्यक्षले कुटे

बाजुरा, १४ चैत । बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीय मनबहादुर विष्टलाई सोही वडाका वडाध्यक्षले कटकबहादुर विष्टले यातना दिने गरी कुटपिट गरेको बुुझिएको छ ।

विद्युत् आयोजना निर्माणमा ज्यालादारीमा काम गरेको ज्याला माग्दा कुटपिट गरेको स्थानीयवासीले बताएका छन् । वडाध्यक्ष भुकाखोला लघु जलविद्युत् आयोजनाका अध्यक्षसमेत रहनुभएको छ । ज्याला माग्दा निर्घातरुपमा कुटिएको पीडित मनबहादुर विष्टले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “गाउँमा रहेको भुकाखोला लघु जलविद्युत् निर्माण भएको लामो समय वितिसक्दा पनि चैतेदशैँ मनाउनका लागि ज्याला माग्दा सोही वडाका वडाध्यक्ष कटकबहादुर विष्टले निर्घात रुपमा हातखुट्टा बाँधेर गाई गोरुको गोठमा थुनेर कुटपिट गरेको विष्टले बताउनुभयो ।

वडाध्यक्षको कुटाइको खबरपछि पिलुचौर प्रहरी चौकीको टोलीले घाइते विष्टको उपचारका लागि जिल्ला सदरमुकाम मार्तडीमा मंगलबार ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभएको छ ।

वलीले दिएको जानकारीअनुसार घाइते विष्टको घाउ केस फाराम भरिएको छ । थप उपचार र जानकारीका लागि विष्टलाई प्रहरी कार्यालयमा ल्याइएको उहाँले बताउनुभयो । विष्टलाई कुटपिट गर्ने वडाध्यक्ष कटक विष्टलाई भने पक्राउ नगरेको बताइएको छ ।

वडाध्यक्ष विष्टले मनबहादुर विष्टले मदिरा सेवन गरी गाली गलौज गरेकाले हातखुट्टा बाँधेर प्रहरीलाई खबर गरेको बताउनुभएको छ । उहाँले आफूले मन विष्टलाई कुटपिट नगरेको बताउनुभयो ।

नवजात शिशुको शव भेटियो

यसैबीच, बाजुराको बडीमालिका नगरपालिका–२ मा रहेको भौनेराको खोलामा मंगलबार बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।

स्थानीयवासीले खोलामा माछा मार्न थापेको जालमा वेवारिसे अवस्थामा उक्त शिशुको शव देखेको खबरपछि शिशु फाल्ने महिलाको खोजी गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार शव परीक्षण गरी दाहसंस्कार गरिएको छ । नवजात शिशु बेवारिसे अवस्थामा किन फालेको हो, त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख वलीको भनाइ छ । शिशु फाल्नेको थप अनुसन्धानका लागि जिल्ला अदालत बाजुराबाट म्याद थप गरी थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org