ताजा समाचार

समयमा उपचार नहुँदा अपाङ्ग बन्दै कुष्ठरोगी

ललितपुर, २१ चैत । कीटाणु फैलिएपछि मात्रै उपचारका लागि आउँदा कुष्ठरोग प्रभावित बिरामी अपाङ्ग बन्दै गइरहेका छन् । रोगप्रतिको सामाजिक दुष्टिकोण बदलिन नसक्दा बिरामीले रोगको लक्षण देखिनासाथ उपचारका लागि अस्पताल जाने नगरेको आनन्दवन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो ।

समयमै उपचार गर्दा रोग निको हुन्छ, उहाँ भन्नुहुन्छ, “शुरुमा उपचार गर्दा रोगको कीटाणु फैलन पाउँदैन तर ढिला उपचार गर्दा बिरामीको अङ्गभङ्ग हुन्छ ।”

यो रोगको उपचारमा ढिलाइ गर्दा हात र खुट्टामा लाटोपना(स्पर्श शक्ति नहुने) र औंला कमजोर एंव बाङ्गो हुनथाल्छ । उहाँ भन्नुहुन्छ, “कीटाणु प्रवेश गरेर पनि उपचार शुरु नगर्दा बिरामीले पोलेको वा किला बिजेको समेत थाहा नपाउने हुन्छ ।” ढिलो औषधि खाँदा निको नभए पनि थप अङ्गभङ्ग हुनबाट जोगिन्छ ।

यो रोगलाई धर्मसँग हेरिएका कारण बिरामी समयमा उपचारका लागि अस्पताल नपुग्ने पोखरेल बताउनुहुन्छ । पहिले कुष्ठरोगलाई कुष्ठी, कोढ, महारोग वा सुनबैरी भन्ने गरेको थियो । यसलाई पूर्व जन्मको पाप, देवता लागेर वा नाग लागेर भन्ने धेरैमा विश्वास रहेको थियो । अझै पनि धेरैले यसलाई वंशाणुगत रोगका रुपमा लिने गरेका छन् ।

उहाँ भन्नुहुन्छ, “अरु सरुवा रोग जस्तै कुष्ठरोगको कीटाणु शरीरमा प्रवेश गरेपछि मात्रै रोग लाग्छ भन्ने आम मानिसलाई बुझाउन खाँचो छ ।” शरीरमा धेरै कीटाणु भएका र उपचार शुरु नगरेका बिरामीबाट हावामार्फत रोग सर्छ । सरकारले सात वर्ष पहिले कुष्ठरोग निवारण घोषणा गरे पनि नयाँ बिरामीको संख्या वर्सेनि बढिरहेका छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org