ताजा समाचार

१०५आैँ भानु जयन्तीमा साहित्यिक दौड प्रतियोगिता

बुटवल २८,असार । आदिकवि भानुभक्त आचार्यको २०५आैँ जयन्तीको अवसर पारेर नेपाल भारत सीमा क्षेत्र बेलहियादेखि भैरहवाको भानु माविसम्म आज साहित्यिक दौड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा ३५ जना प्रतियोगीलाई उछिन्दै साढे पाँच किलोमिटर दूरीको सिद्धार्थ नगरपालिका–१२ शान्तिनगरका सुजन गुरुङ प्रथम भए ।

यसैगरी, द्वितीय हुनेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी बलबहादुर पुन  छन भने तृतीय स्थान ओमसतिया गाउँपालिका–४ बालापुरका लक्ष्मण श्रीस थापाले जित्न सफल भए। प्रतियोगितामा सशस्त्र प्रहरी बल डण्डा गुल्मका विजयराज गिरी चौथो भए।

बेलहियाको नेपाल प्रवेशद्वारमा प्रतियोगिताको सिद्धार्थनगर पालिकाका प्रमुख हरिप्रसाद अधिकारीले शुभारम्भ गरेका थिए।

प्रतियोगीहरु बेलहियाबाट, डण्डा हुदै भैरहवा बसपार्क देवकोटाचौक, नयाँसडक ब्रमेलीटोल, बुद्धचौक प्रभातपथ हुँदै भानु माविमा रहेको आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमासम्म पुगेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुलाई भानु माविको सभा हलमा आयोजित सभा हलमा प्रतियोगिता आयोजक सिद्धार्थ साहित्य परिषद् र सिद्धार्थ नगरपालिकाले स्वागत गरेको थियो ।

सभा हलमा प्रतियोगिता समापन समारोहमा नगर प्रमुख अधिकारीले राष्ट्रिय विभूतिका रुपमा रहेका आदिकवि आचार्यलाई साहित्यकारहरुले मात्रै नभएर खेलमार्फत सम्झिने परम्पराको थालनी उदाहरणीय भएको बताए।

परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता भएको कार्यक्रममा भानुजयन्ती मूल समारोहका सदस्य प्राडा कपिल लामिछाने, साहित्यकारहरु मणिराम भट्टराई, मोति सुवेदी, कृष्ण बस्यालले भानुभक्तको साहित्यिक कृतिमाथि प्रकाश पारेका थिए ।

प्रतियोगिताका प्रथम हुनेले रु आठ हजार नगद, द्वितीय हुनेले रु पाँच हजार र तृतीय हुनेले रु तीन हजार नगद प्राप्त गर्नेछन् । उक्त नगद पुरस्कार र प्रमाणपत्र असार २९ गते भैरहवामा आयोजित भानुजयन्ती विशेष कार्यक्रममा प्रदान गरिने जनाइएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org