ताजा समाचार

राससकर्मी गिरीलाई युवा पत्रकारिता पुरस्कार

भक्तपुर ३१, असार । राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिको कार्यालय भक्तपुरले राष्ट्रिय समाचार समिति भक्तपुरका संवाददाता रमेश गिरीलाई ‘युवा पत्रकारिता पुरस्कार २०७५’ प्रदान गरेको छ ।

कार्यालयले आज आयोजना गरेको जिल्लास्तरीय युवा उद्यमी पहिचान तथा सम्मान कार्यक्रममा राससकर्मी गिरीलाई नगद रु चार हजारसहित उक्त पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा साहित्यतर्फबाट रश्मिला कवां, उद्यमीकोतर्फबाट डिभाइन युवा क्लब, सिडल्याण्ड नेपाल र सिद्धि गणेश राइस मिललाई नगद रु चार हजारसहित युवा उद्यमी पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी, युवा प्रतिभा पहिचानअन्तर्गत कार्यालयले आयोजना गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा युवाको भूमिका विषयको वादविवाद प्रतियोगिताका विजयीलाई पनि पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा प्रथम हुने सानोठिमी क्याम्पसका विद्यार्थी उज्जवल पाण्डे, क्याथफोर्ड कलेजका प्रवीण पाठक, सैनिक आवासीय महाविद्यालयकी अनुजा दाहाल र ख्वःप कलेजका कविता ढकाललाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकीय अधिकृत मुक्तिसिंह ठकुरीले स्वदेशमै उद्यमी बन्न सरकारले अनुदान, पुरस्कार एवं निव्र्याजी ऋणसमेत उपलब्ध गराउँदै आएकाले उद्यमी बन्न युवा वर्गलाई आग्रह गरे।

जिल्ला युवा समितिको कार्यालय भक्तपुरका प्रमुख पद्मराज जोशीले युवाको प्रतिभा पहिचान र युवा उद्यमीमार्फत देशमा युवा वर्गलाई उद्यमशीलतामा लाग्न अभिप्रेरित गर्ने लक्ष्यका साथ सरकारले शुरु गरेको पुरस्कारले युवालाई प्रोत्साहन मिल्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले थोरै पैसाका लागि विदेशिने युवालाई रोकेर अब स्वदेशमै सहज रोगजारी पाउने अवस्था सरकारले सिर्जना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मखमलको झोला बुनाइ तालीमका प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org