ताजा समाचार

नेकपा स्थायी समिति बैठकः भोलि ओली र प्रचण्डले जवाफ दिने

काठमाडौँ ।  सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल शनिबार पनि जारी रह्यो ।

पार्टी र सरकारको काम कार्वाहीबारे समिक्षा गर्ने मूल एजेण्डासहित एक हप्ता अघिबाट सुरु भएको स्थायी समितिको शनिबारको बैठकमा पनि अध्यक्षद्वय ओली र प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा वरिष्ठ नेताद्धय माधवकुमार नेपाल तथा झलनाथ खनाल, महासचिव विष्णु पौडेल, नेताहरु रामबहादुर थापा र गिरिराजमणि पोखरेलले राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए ।

परराष्ट्रमन्त्री समेत रहेका प्रदिप ज्ञवालीले भने भोलि बोल्नेछन् । आज अमेरिकाको भ्रमणबाट फर्की बैठकमा सहभागी भएका नेता ज्ञवालीले भोलीको बैठकमा बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिनेछ ।
भोलीको बैठकमा नेता ज्ञवालीले बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्षद्वय ओली र दाहालले दिनेछन् ।  त्यसपछि सो प्रतिवेदन पारित गर्ने वा परिमार्जन गर्ने भन्ने विषय टुंगोमा पुग्ने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

नेकपा स्थायी समिति बैठकमा नेताहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पु¥याउन नसकेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् ।
केही पार्टी नेताहरुले विवादास्पद ‘एशीया प्यासिफिक सम्मेलन’मा सहभागी भएकोमा आत्माआलोचना गर्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालसँग माग गरेका थिए ।

बैठकमा सरकारको काम कार्वाही प्रभावकारी गराउन भन्दै केही नेताहरुले मन्त्रीपरिषद पुनर्गठन गर्न पनि माग गरेका थिए । आजको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो अमेरिकी भ्रमणबारे बिफ्रिङ गर्दै सफल भएको दावी गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org