ताजा समाचार

राजाले भेटे भारतीय राजदुत, स्पष्टिकरण लिने तयारीमा सरकार

काठमाडौं । भारतीय राजदुत मन्जिव सिंह पुरीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको विषय गम्भीर रहेको भन्दै आपत्ति जनाएको छ ।

मधेस भ्रमणमा रहेका पूर्वराजालाई भारतीय राजदुत पुरीले भेटेको भन्ने सरकारी सुचनाका आधारमा यो विषयले मन्त्री परिषदमा प्रवेश पाएको हो । बिहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीतका गतिविधि गर्दै हिँडेका पूर्व राजासँगका भारतीय राजदूतले भेट गर्नु आपत्तिजनक रहेको भन्दै स्पष्टिकरण लिने संकेत दिएका छन् ।

पूर्वराजालाई नागरिकका रुपमा जहाँ जान छुट भएपनि अन्य चलखेल गर्न भने छुट नरहेको भन्दै सरकारले यसबारे स्पष्टिकरण सोध्ने तयारी थालेको स्रोको दाबी छ ।

गत साता जनकपुरलाई मुकाम बनाएर पूर्व राजा ज्ञानेन्द्र शाहले सर्लाही, धनुषा, सिराहा, उदयपुर र सप्तरीका बिभिन्न मठमन्दिरको भ्रमण गरेका थिए । धार्मिक भ्रमण भनिए पनि पूर्व राजाको मुख्य मिसन मधेसी समुदायसँग संवाद रहेको उनका सहयोगीले बताएका थिए ।

जनकपुरको शीताशरण होटलमा बसेका पूर्व राजालाई भारतीय राजदूत पुरीले सोही होटलमा भेटेको सूचना सरकारले पाएको छ । भारतीय दूतावास स्रोतले भने पूर्वराजासँग भएको भेटको पुष्टि गर्न चाहेको छैन ।

पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले सशस्त्र प्रहरीका डिएसपीको कमाण्डमा ५६ जना सुरक्षाकर्मी खटाएको छ । त्यस्तै पूर्व राजाको निवास सुरक्षाका लागि अलग्गै बेस छ । पूर्वराजा मधेस मिसन सकेर अहिले झापाको दमकमा बसिरहेका छन् । उनी दुई सातापछि काठमाडौं फर्किने स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org