ताजा समाचार

धनगढी विस्फोटमा विप्लवका कार्यकर्ता सिंहको मृत्यु, चार घाइतेको उपचार हुँदै

धनगढी । बम विस्फोटमा गम्भीर घाइते भएका राम सिंहको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-०४, स्थित शहीद गेट नजिकै रहेको नीलम होटेलमा बिहिबार भएको विस्फोटमा परेर ५ जना घाइते भएका थिए । ती घाइतेमध्ये सिंहको उपचारको क्रममा मृत्यु भएको हो । बम विष्फोटमा कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे घाइते भएका छन् ।

गम्भीर घाइते सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति ११ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले पुष्टि गरेको छ ।

तर, घाइते भएका सिंहलाई मेर्टो अस्पतालले तत्काल बाहिर लैजान सिफारिस गरेको थियो । थप उपचारका लागि बाहिर लैजानु पर्ने भनिएपनि समय अभावका कारण बाहिर लैजान नसकिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आफैंले बोकेको बम विस्फोट हुँदा सिंहकाे कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो ।

उनको शव अहिले पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । सिंह बझाङका स्थायी बासिन्दा हुन् । उनी विप्लव समूहको कार्यकर्ता भएको प्रहरी भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org