ताजा समाचार

वार्ताको लागि प्रयास गर्दा गर्दै पक्राउ परे, वार्ताको विकल्प छैन: विप्लव उच्च नेता कार्की

काठमाडाैं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीले आफ्नो पार्टी र सरकारबीच वार्ताको विकल्प नभएको जनाएका छन् ।

राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा कार्कीले महानगरिय प्रहरी परिसर टेकुमा भनेका छन्, देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्ण रुपमै समस्याको समाधान खोजिनुपर्छ ।

उनले आफू वार्ताको पक्षमा रहेको र वार्ताकै लागि विभिन्न सम्पर्क सूत्रमार्फत प्रयास गर्दैगर्दा पक्राउ परेको जानकारी दिएका छन्। वार्ताका लागि राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

पार्टीको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति भएको र छापामार युद्ध नरहेको जिकिर गर्दै उनले भने, “एकीकृत जनक्रान्ति भनेको किसान, मजदूर, मध्यमवर्ग र राष्ट्रिय पूँजीपति वर्गलाई एकीकृत ढङ्गले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने हो, कतिपय साथीहरुले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नुभएको छ ।”

आफूले पार्टीका महासचिव चन्दलाई समेत पार्टीमा केही कुराहरु सच्याउन र कार्यदिशाअनुसार शहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने तथा राष्ट्रिय जागरण फैलाउने अभियान गर्नुपर्ने सुझाव दिएको जानकारी दिए । उनले आफ्नो समूहको केही कमजोरी भएको स्वीकार गरे ।

चन्द समूहले सञ्चालन गरेको विध्वंसात्मक घटनामा संलग्न रहेको आरोपमा उनलाई गत चैत १ गते ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org