ताजा समाचार

जनैपूर्णिमामा भक्तजनको भीडभाड (फोटोफिचर)

काठमाडौँ । आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व। सनातन हिन्दू तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन छ।

हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। विधिपूर्वक जनै मन्त्रन यजमानहरू आज बिहान सबेरै आ–आफ्ना गुरु–पुरोहितकहाँ जाने गर्दछन्।

ऋषि तर्पणी हिन्दू तागाधारी जातिले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदीकिनार पोखरी तालतलैमा गई तर्पण गरिने चलन भएकाले यस पर्वलाई ऋषितर्पर्णी समेत भनिन्छ।

आज काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर र सप्तऋषि, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, रामेछापको पाँचपोखरी, सिन्धुपाल्चोकको दुधपोखरी, लमजुङ–मनाङ–कास्कीको दोभानमा रहेको त्रिवेणी, बाजुराको बडीमालिका, त्रिवेणी लगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लागेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org