ताजा समाचार

समुदायमा फैलियो कोरोना : उपचार क्रममा एकको मृत्यु

दैलेख । कोरोना पोजिटिभ देखिएको दैलेखका एकजनाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिकाका-३ का ४५ वर्षीय पुरुष को कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत उनको सोमबार राती साढे ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

निर्देशक डा. खड्काका अनुसार उनी क्षयरोगबाट थलिएका थिए । अस्पतालमा भर्ना गरिसकेपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको निर्देशक डा. खड्काले जनाए । क्षयरोगका बिरामी समेत रहेका ती व्यक्तिलाई दैलेखको दुल्लुबाट जेठ २ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो । ‘अस्पतालमा आउँदा नै ती व्यक्तिको अवस्था गम्भीर थियो, हामीले आइसीयूमा राखेर उपचार गरिरहेका थियौं, डा.खड्काले भने, ‘क्षयरोगी समेत भएकाले कोरोना संक्रमणले थप समस्या निम्त्यायो ।’

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखामा प्रमुख डा. लक्ष्मिनारायण तिवारीका अनुसार कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

यसैबिच कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय नाघेको छ । स्वास्थ्य सेवा महाशाखामा प्रमुख डा. लक्ष्मिनारायण तिवारीका अनुसार कोरोना संक्रमितको संख्या एक हजार तीन सय सात पुगेको छ ।मंगलबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेखका १९, सुर्खेतका ५ र कालिकोटका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org