ताजा समाचार

“वैचारिक कार्यभारलाई केन्द्र राखी महाधिवेशन को तयारी गरौं”, मंसिरमा सम्भव छैन : प्रवक्ता श्रेष्ठ

महाधिवेशन प्राविधिक कुरा मात्र होइन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र महाधिवेशन बहस सुरु भएको छ ।

शनिबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्ली महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएपछि नेकपाको बहस मोडिएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिरमा एकता महाधिवेशन असम्भव भएको तर्क गरेका छन् । आफ्नो तर्कमा उभिन्दै श्रेष्ठले महाधिवेशन प्राविधिक र नेतृत्व हस्तान्तरणको मात्र विषय नभएको जिकिर समेत गरेका छन् ।

“हाम्रो पार्टीमा अहिले एकता महाधिवेशन गर्ने चर्चा सुरु भएको छ । यो राम्रो र खुसीको कुरा हो । किनकि पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न आवश्यक तयारी पुरा गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गर्नै पर्छ,” उनले भनेका छन्, “तर महाधिवेशनलाई प्राविधिक विषय मात्र बनाउनु हुँदैन ।”

पार्टीभित्र विवाद सघन बन्दै जाँदा नेकपामा वैचारिक विषयले पनि प्रवेश पाएको छ । प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवाद नै मार्गदर्शक सिद्धान्त बनाउनु उपयुक्त हुने निष्कर्ष निकाल्दै बहसको निम्तो दिएपछि पूर्वमाओवादी केन्द्र विलयको भयले झस्किएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबजमा जान नसकिने बताइ सकेका छन् ।

प्रवक्ता श्रेष्ठले निर्क्यौल गर्नुपर्ने आवश्यकता बोध गरेका छन् ।  “वैचारिक कार्यभारलाई केन्द्रमा राखी साङ्गठनिक कार्यभार समेत पूरा गर्ने गरी महाधिवेशन को तयारी गरौं । यसो गर्दा आगामी मङ्सिरमा नै महाधिवेशनको आयोजना गर्न सम्भव देखिँदैन,” उनले भनेका छन् ।

महाधिवेशनको सन्दर्भमा हतपत र ढिलाइ दुवै गलत हुने श्रेष्ठको निष्कर्ष छ । “गत केन्द्रीय कमिटीको यस सम्बन्धी निर्णयलाई ध्यान दिँदै उपयुक्त समय निर्धारित गरी महाधिवेशनको तयारीमा अघि बढौ,” उनको भनाइ छ । गत माघ १५ देखि १९ गतेसम्म चलेको केन्द्रीय कमिटीको दोस्रो बैठकले एकता महाधिवेशनको तिथि तय गरेको थियो । केन्द्रीय कमिटी बैठकले चैतको २५ गतेदेखि ३० गतेसम्म महाधिवेशनको मिति तय गरेको थियो ।

प्रवक्ता श्रेष्ठले नयाँ मिति तय गरेर जान सुझाएका छन् । “महाधिवेशनलाई एकता र वैचारिक संश्लेषण एवम् विकासको महाधिवेशन बनाऔं,” उनले सामाजिक सञ्जाल फेसबुमा भनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org