ताजा समाचार

प्रचण्डसंग पूर्वमाओवादी ६ भाईको गुनासोः हामीलाई छाडेर नयाँलाई साथ दिनुभयो

काठमाडाैँ । पूर्व माओवादी पक्षधर स्थायी कमिटी सदस्यहरूले आफुहरुलाई छोडेर अरूलाई साथ दिएको भन्दै गुनासो गरेका छन्।

प्रचण्ड निवास खुमलटारमा पूर्व माओवादी पक्षधर पाँच जना स्थायी कमिटी सदस्यहरूले आफुहरूलाई भन्दा पूर्व एमालेका नेताहरूको साथ लिएको भन्दै आपत्ति जनाएका हुन्।

बिहीबार प्रचण्ड निवास खुमलटारमा स्थायी समिति सदस्यहरु टोपबहादुर रायमाझी, मणि थापा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, चन्द्रप्रकाश खनाल र जनार्दन शर्मा खुमलटार पुगेका थिए।

श्रोतका अनुसार भेटघाटको संयोजन स्थायी समिति सदस्य शर्माले गरेका थिए।

स्थायी समिति सदस्यहरुले पार्टी एकताका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न सुझाव दिएको एक स्थायी कमिटी सदस्यले सेतोपाटीलाई बताए।

उनीहरूले महाधिवेशन सम्म वरिष्ठ नेता माधव नेपालसँगको समिकरण भन्दापनि प्रधानमन्त्रीसँग नै मिलेर अगाडि बढ्न सुझाव दिएको अर्का स्थायी कमिटी सदस्यले बताए।

‘हामीले एकताको लागि पहल गर्नुस भन्यौ’, स्थायी समिति सदस्य हरिवोल गजुरेलले भने,’उहाँले म त प्रयत्न गर्छु र गरिरहेको छु। तपाईंहरूले पनि हौसला दिनुहोस् भन्नुभयो।’

अर्का स्थायी कमिटी सदस्य मणि थापाले अहिलेको अवस्थामा समिकरण बनाउनमा भन्दा पनि पार्टी एकतामा ध्यान दिन जरुरी रहेको धारणा आफुले राखेको बताए।

‘उहाँलाई हामीले पार्टी एकताको निम्ति साथ दिएको हो।त्यसैले पार्टी एकता गर्नपर्यो भनेर भनेका छौं’, थापाले भने,’समस्या समिकरणमा हो भन्ने लागेको छ। पार्टी एकता गर्ने गरी हाम्रो साथ रहन्छ भनेर हामीले भनेका छौ।’

स्थायी कमिटी सदस्यहरुको भेटमा प्रचण्डले मुख्य कमजोरी आफ्नो नभई ओलीको भएको बताएका थिए। उनले पूर्व माओवादीहरु एक ठाउँमा हुनुपर्नेमा समेत जोड दिएका थिए।

‘प्रधानमन्त्रीले महाधिवेशनबाट वैधानिक रुपमा छोड्छु भन्नुभएको छ। सहमतिमा एक पद छोड्ने या पार्टी निर्णय मान्न ओली तयार हुनुपर्ने अडान राख्नुभएको छ’,स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘महाधिवेशनमा गएर भएपनि अहिलेको समस्या समाधान गर्नुपर्छ। निकासका लागि भने प्रधानमन्त्री तयार हुनुपर्छ भन्ने हाम्रो धारणा हो।’

प्रधानमन्त्रीले आफ्ना धारणा बैठकमा आएर भन्नुपर्ने समेत पौडेलले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org