ताजा समाचार

डल्लु अपहरण प्रकरण : इमाडोलबाट पाँच अपहरणकारी पक्राउ

काठमाडौँ । एक व्यक्तिलाई अपहरण गरेको आरोपमा ललितपुरको इमाडोलबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति ९ बजे अपहरणमा परेको भन्दै प्रहरीलाई सूचना पुगेको थियो ।

काठमाडौँको डल्लुबाट कैलाली टिकापुरको किसन डगौरा अपहरणमा परेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा फोन गरेर एक व्यक्तिले सूचना दिएका थिए । प्रहरीलाई सूचना दिने व्यक्ति थिए वीरबहादुर थापा । लगत्तै किसन डगौराको उद्धारका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), ललितपुर प्रहरी, काठमाडौँ प्रहरी र अपराध महाशाखा परिचालन भएको थियो ।

प्रहरी टोलीले वीर बहादुर थापाले प्रयोग भएको मोबाइलको लोकेशन हेर्दा सुरुमा ललितपुरको हरिसिद्धी देखिएको थियो । सोही अनुसार त्यहाँ प्रहरी परिचालन भयो । पछि डगौराले प्रयोग गर्ने फोनेको मोबाइल लोकेशन हेर्दा ललितपुरको इमाडोल देखिएको प्रहरीले जनाएको छ ।

सीआईबी र ललितपुर प्रहरीले संयुक्त रुपमा अपरेशन गर्दा बा १२ च १६१७ नम्बरको कारसहित ललितपुरको इमाडोलस्थित कृष्णमन्दिरबाट पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलाली टीकापुरका वर्ष ३३ को निर्प सोडारी, ललितपुर टीकाथलीका वर्ष ४८ का लालबहादुर रावल, टीकाथलीकै वर्ष २० का सम्राट रावल, बाराका वर्ष २७ को नविन खड्का, आछामका वर्ष ३८ को गणेश बहादुर साउद रहेका छन् ।

यस्तै कैलाली टीकापुर वर्ष ४१ का किसन डगौरालाई पनि सुरक्षाको लागि प्रहरीले नियन्त्रणमा लिएर अपहरण गर्नुको कारणबारे सोधपुछ गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशील यादवले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुबीच लेनदेन भएको कारण अपहरण गरेको खुल्न आएको प्रहरीले बताएको छ । किसन र निर्प सोडारीबीच आर्थिक लेनदेन रहेको प्रहरीले जनाएको छ । उनीहरु एउटै जिल्लवासी समेत हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org