ताजा समाचार

नेपाल समूहको नयाँ रणनीति : प्रचण्डको ‘कार्यकारी’ अधिकारको परीक्षण गर्ने

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादका अर्को प्रमुख खेलाडी माधवकुमार नेपाल समूहले तत्कालका लागि प्रचण्डको ‘कार्यकारी’ परीक्षण गर्ने रणनीति अंगीकार गर्ने भएको छ ।

नेकपाको पछिल्लो विवादमा प्रचण्डसँग कार्यगत सहकार्यमा रहेको नेपाल समूह तत्कालका लागि उनको कार्यकारी भूमिका परीक्षण गर्ने निष्कर्षमा देखिएको हो । परिमार्जित प्रतिवेदनमा प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका प्रस्ताव छ । स्थायी कमिटी बैठकमा अनुमोदनपछि यो कार्यान्वयनमा जानेछ ।

ओली र प्रचण्डले पार्टी विवाद समाधान गर्न गठन गरेको ६ सदस्यीय कार्यदलको प्रतिवेदनलाई आधार मानेर विवाद अन्त्य र एकताका लागि सहमतिको प्रस्ताव तयार पारेपछि नेपाल समूह तत्कालका लागि सहमति कार्यान्वयन अवस्था हेर्ने रणनीतिमा पुगेको हो । पछिल्लोपटक प्रचण्डकै चाहनाअनुसार कार्यकारी अधिकार मूर्त बनाइएको र त्यसमा उनको सहमति रहेको नेपाल समूहको बुझाइ छ । त्यही कारण शुक्रबारको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल समूह समस्या समाधानमा प्रतिवेदन सकारात्मक रहे पनि कतिपय विषय अझै अमूर्त रहेको धारणा राख्ने तयारीमा छ ।

तर, थप विवाद चर्काउने गरी कुनै लिखित असहमति र आक्रामक प्रस्तुति नदिने उनीहरूको योजना छ । प्रतिवेदनप्रति पूर्ण सन्तुष्टि नरहे पनि कार्यदलमा निकट नेताहरू सुरेन्द्र पाण्डे र भीम रावल रहेको, कार्यदललाई सचिवालयबाट अनुमोदन गराइएको, कार्यदलले प्रतिवेदन बुझाएपछि सचिवालयमा नेपालसहितका नेताले आफ्नो मत राखेको र त्यसैअनुसार परिमार्जित प्रतिवेदनमा समेत थप धारणा राख्ने अवसर दिइएकाले नेपाल समूह आक्रामक रूपमा प्रस्तुत नहुने निष्कर्षमा पुगेको हो । यसअघि कार्यदलले बुझाएको सुरुको प्रतिवेदनमाथि १८ भदौको सचिवालय बैठकमा नेता नेपालले सुधारका लागि भन्दै १५ बुँदे मत राखेका थिए ।

यो सामाचार आज नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org