ताजा समाचार

औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।

‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताएका हुन् ।

व्यवहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने उनको भनाइ छ ।

जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडी बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘‘केही केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला । जनताको आवश्यकतालाई समयको माग अनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ ।

त्यस्तो प¥यो भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशील र असंशोधनीय चिज होइन । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशील विषय होइन ।’’

संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानूनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए । उनले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने बताए । उनले भने, ‘संविधान संशोधनका लागि हामी सबै खुला दिमाग राखेर बिना बहकाउ तयारी रहनुपर्छ ।’

पाँचौ संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६४६ पृष्ठको ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन गरेका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री निवासमा भएको पुस्तक विमोचनमा भौतिक दुरी कायम गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org