ताजा समाचार

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्यमा ओली–प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारीमा जुटेका छन्।

सोही विषयमा अहिले प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ।

‘दुई अध्यक्षबीच आज हिजोकै निरन्तरतास्वरुप भेटवार्ता भएको हो,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘आजको छलफलपछि उहाँहरू टुङ्गोमा पुग्ने सम्भावना छ।’ मन्त्रिमण्डल पुनर्गठनका लागि दुई नेता लगातार भेटवार्ता र संवाद हुँदै आएको छ। बिहीबार मात्रै दुई अध्यक्षबीच झन्डै तीन घण्टा छलफल भएको थियो। उक्त भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनमा अपनाइने मापदण्डका बारेमा छलफल भए पनि पात्रका बारेमा भने सहमति जुट्न सकेको थिएन ।

गत आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रस्ताव गरेको थियो। बैठकमा सबै मन्त्री फेर्ने, दुई वर्ष पूरा भएकालाई हटाउने र नयाँ राख्ने, राम्रा काम गरेकालाई निरन्तरता दिने लगायतका विभिन्न विकल्प प्रस्तुत भएको थियो। तर, निष्कर्ष भने निस्किन सकेन। सोही विकल्पमा रहेर मन्त्रिपरिषद् पुनर्गठनको अधिकार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई दिइएको थियो। दुई अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठनको गठनको तयारी थालेका हुन्।

केही समयभित्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ। मंगलबार बसेको सचिवालय बैठकले पार्टी एकताका सन्दर्भमा १० दिन भित्र ठोस कार्ययोजना ल्याउन अध्यक्षद्वय र महासचिवलाई निर्देशन दिएको थियो। त्यस्तै खाली रहेका संवैधानिक तथा राजनीतिक नियुक्तिहरू संविधानको मर्मअनुसार चाँडो गर्न सरकारलाई सुझाव दिएको थियो। ओली प्रचण्डबीचको बिहीबारको भेटवार्तामा समेत यसबारे छलफल भएको बुझिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org